सीमा विवादः भारतसँग तत्काल वार्ता प्रक्रिया अगाडि बढाएर नेपालको भूमि फिर्ता ल्याउछौः प्रधानमन्त्री ओली



२३ कार्तिक, काठमाडौं ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, विषयविज्ञहरु सहभागी सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि बलियो सरकार र राष्ट्रिय सहमति कायम भएको बताउनुभयो ।

राष्ट्रिय सहमति र एकताको यो बलियो आधारमा सरकारले भारत सरकारसँग प्रभावकारी कूटनीतिक वार्ता अगाडि बढाउने प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । कालापानी क्षेत्रलगायतका विषयमा सरकारले अघि बढाउने कदममा जिम्मेवार सबै पक्षबाट बलियो साथ र भरोसा पाएको भनी प्रधानमन्त्री ओलीले त्यसप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । मुलुकमा बलियो सरकार रहेको र यो राष्ट्रिय एकतालाई आधार बनाएर भारतसँग तत्काल वार्ता अगाडि बढाइने उहाँको भनाइ थियो ।

भारतसँग मित्रता सुदृढ गर्ने आफूहरुको चाहना रहेको भन्दै उहाँले कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न सकिन्छ भन्ने कुरामा सरकार विश्वस्त रहेको उल्लेख बताउदै प्रधानमन्त्रीले भन्नुभयो, “सबै राजनीतिक दल, जानकार उपस्थित भएर सरकारलाई जुन प्रकारको आड र भरोसा दिनुभएको छ, यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ ।”

सर्वदलीय बैठकको निष्कर्षका आधारमा सरकारले आन्तरिक छलफल गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले नेपाल–भारत सीमाका विषयमा नेपाल–भारत संयुक्त सीमा कार्यदलले काम गरिरहेको छ भने परराष्ट्र सचिवस्तरीय संयन्त्रले पनि कालापानी र सुस्ताका विषयमा छलफल गरिरहेको जानकारी दिनुभयो ।

सर्वदलीय बैठकले विभिन्न स्थानमा नेपाली जनता राष्ट्रिय हितको पक्षमा उभिएकामा त्यसलाई ठूलो ऊर्जाको रुपमा लिँदै सबैलाई संयम हुन आग्रहसमेत गरेको छ । सरकारले नेपाल–भारत सम्बन्धलाई प्रतिकूल प्रभाव पार्ने खालको उत्तेजना र बहकावमा नआउन आग्रह गर्दै आफ्नो राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ ।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीहरुले नेपाल–भारतबीचको सीमा समस्या तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलमार्फत समाधान गर्न सरकारलाई सुझाव दिनुभएको थियो । कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका क्षेत्र नेपालको हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै उहाँहरुले भारतीय पक्षसँग उच्चस्तरीय संवादमार्फत तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

केही दिन पहिले भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूमि आफ्नो भू–भागमा समेटेपछि उत्पन्न परिस्थितिबारे सर्वदलीय सहमति खोज्ने उद्देश्यले प्रधानमन्त्री ओलीले आज आफ्नै सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठकको आयोजना गर्नुभएको हो । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री एवं सीमा क्षेत्रका जानकारहरुले एकै स्वरमा कालापानी नेपालको रहेको र सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसँग अविलम्ब संवाद गर्न सुझाव दिनुभएको थियो ।

राजनीतिक विषयमा फरक–फरक राजनीतिक दलका फरक–फरक मूल्य–मान्यता भए पनि राष्ट्रियता र सीमा सुरक्षाका विषयमा समान धारणा रहेको, कोही पक्ष वा विपक्षमा नभई एउटै स्वर भएको सहभागीहरुले बताउनुभएको थियो । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी नेपालको भूमि हो भन्ने कुरामा कुनै विवाद नभएको बताउदै भन्नुभयो, “कालापानी क्षेत्रमा भारतीय सुरक्षा बल रहेको भाग नेपालको भू–भाग हो, भारतीय सुरक्षा बल रहेको पश्चिमतर्फको महाकाली नदी पूर्वको सबै भू–भाग नेपालको हो । नेपालको भू–भाग फिर्ता लिन सरकारले उच्च प्राथमिकता र कूटनीतिक प्रयत्न गर्नुपर्छ ।”

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता भीमबहादुर रावल सहभागी हुनुहुन्थ्यो ।

यस्तै प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनता पार्टी ९राजपा०का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, राजकिशोर यादव र महेन्द्रराय यादव, पूर्वपरराष्ट्रमन्त्री पाण्डे र कमल थापा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायत सहभागी हुनुहुन्थ्यो । यस्तै सीमाका विषयमा जानकार सूर्यनाथ उपाध्याय, वरिष्ठ पत्रकार भैरव रिसाललगायत सहभागी हुनुहुन्थ्यो ।
–––

त्रताको सम्बन्ध सीमासँग सट्टापट्टा हुँदैन ः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताउनुभएको छ । बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गर्नुभयो ।

“मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो । सीमा विवादले सरकारको ‘मन’ दुःखेको उहाँको भनाइ थियो । “छिमेकीले नक्सा जारी गरेको छ, सीमा मिचिएको छ, सरकारले अस्वीकार गरेको छ, हामी त्यो स्वीकार्न सक्दैनौँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

सरकार सीमा विवादका विषयमा छलफलमा गम्भीरतापूर्वक जुटेको मन्त्री बाँस्कोटाले बताउनुभयो । “सरकार प्रमाण खोजेर त्यस आधारमा यथोचित निष्कर्षमा पुग्नेछ”, उहाँले भन्नुभयो, “सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कूटनीतिक रुपमा छलफल गर्ने पक्षमा छ ।” उहाँले भन्नुभयो, “सत्यको अघि झुट टिक्दैन, न्यायको अघि बल टिक्दैन, तागत टिक्दैन, त्यसैले सत्य र न्यायको लडाइँले जित्छ, जित्नेछौँ ।”

मन्त्री बाँँस्कोटाले जुनसुकै देशका लागि आफ्नो सार्वभौमसत्ता प्रिय हुने बताउनुभयो । “सार्वभौमसत्ता चीन र भारतको ठूलो, नेपालको सानो भन्ने हुँदैन, हाम्रो हक–अधिकार, हाम्रो सीमा ऐतिहासिक प्रमाणका आधारमा निर्धारण गरी छोड्छौँ”, उहाँले भन्नुभयो । वर्तमान सरकार हिजोको जस्तो सीमा मिची सक्यो भनेर मुन्टो लुकाउने पक्षमा नभएको उहाँको भनाइ थियो । करीब दुई प्रतिशत सीमा समाधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले समय समयमा सीमा विवाद आइरहेको स्मरण गर्दै सरकार एकतापूर्वक राष्ट्र र स्वाभिमान कायम राख्न दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “कसैको लहैलहैमा लागेर वीर गोर्खाली भनेर एकैचोटि तरबार झिक्न मिल्दैन, सोचेर, प्रमाणसहित जानुपर्छ ।” उहाँले आजै बनेपास्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभामा मुलुक निर्माणको अभियानमा सरकार रहेको बताउनुभयो । “नयाँ युगको आरम्भ भएको छ, हामी निर्माण र महानिर्माणको महाअधियानमा छौँ, हाम्रो युग शुरु भयो” मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले उत्पादनका क्षेत्रमा जनशक्ति तयार गरी मुलुकलाई समृद्ध बनाउन सरकार लागिपरेको बताउनुभयो । मन्त्री बाँस्कोटाले आजै बनेपा नपा–४ नालास्थित वडा कार्यालय तथा महादेवखोला पुलको शिलान्याससमेत गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्