सिन्धुलीगढी दरबार पुननिर्माण गर्न ४ करोड विनियोजन गरेका छौंः मन्त्री ढुंगेल



२४ कार्तिक, सिन्धुली ।
प्रदेश नं ३ का आन्तरिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सिन्धुलीगढी दरबार पुनःनिर्माणका लागि प्रदेश सरकारले चार करोड रकम विनियोजन गरेको बताउनुभएको छ । उहाँले ऐतिहासिक सिन्धुली गढी दरबारको पुननिर्माणको कामलाई प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताउनुभएको हो ।
ऐतिहासिकस्थल सिन्धुलीगढीमा आइतवार आयोजित २५२औँ विजयोत्सव समारोहमा उहाँले आवश्यक रकमका सवालमा योजना बनाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिन्धुलीगढीलाई पर्यटन वर्ष २०२० मनाइरहँदा सिन्धुलीगढीलाई पर्यटकको प्रमुख गन्तव्य बनाउने मन्त्री ढुंगेलले बताउनुभयो । अहिले देशका प्रमुख १०० पर्यटन गन्तव्यस्थलमा रहेको र यहाँको सङ्ग्रहालय र दरबार निर्माणले पनि प्रमुख गन्तव्यका रुपमा विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सिन्धुलीगढी सङ्ग्रहालयको शिलान्यास
सिन्धुली गढीमा निर्माण हुन लागेको युद्ध सङ्ग्रहालयको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले गर्नुभयो । नेपाली सेनाको चार करोड ५० लाखको लागतमा निर्माण हुने सङ्ग्रहालयमा युद्धका बेला अङ्ग्रेज फौजलाई हराउन प्रयोग गरिएका हतियार तथा युद्धका समयमा प्रयोग गरिएका सामग्रीलाई व्यवस्थित तरिकाले राखिने भएको छ । प्रधानसेनापति पूणचन्द्र थापाले विसं १८२४ मा किनलाक नेतृत्वमा आएको अङ्ग्रेजी फौजलाई नेपाली पुर्खाले हराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्