कान्छारामले रामेछापमा वितरण गरेको एम्बुलेन्स अलपत्र पर्दै



३० कार्तिक, रामेछाप ।
निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले रामेछाप जिल्लामा निशुल्क रुपमा वितरण गरेको एम्बुलेन्स अलपत्र पर्न थालेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार रामेछापको विभिन्न वडामा एम्बेलेन्स वितरण गरनुभएकाे थियाे ।  तर स्थानीय सरकारले सञ्चालनको जिम्मेवारी नपाउदा एम्बुलेन्स सञ्चालनमा कठिनाई भएको छ ।

कांग्रेस निटकका व्यक्ति र संघ संस्थाले एम्बुलेन्स सञ्चालनको जिम्मेवारी लिए पनि व्यवस्थापनमा कठिनाई पर्दै जान थालेको छ । २३ असार २०७५ मा कांग्रेसका सभापति शेरबहादुर देउवा सहित कांग्रेसका शीर्ष नेता सहभागी गराएर कान्छारामले एम्बुलेन्स विभिन्न संघ संस्थालाई हस्तान्तरण गरनुभएकाे थियाे ।  तर स्थानीय सरकारसँग समन्वय नहुँदा एम्बुलेन्स थन्किने अवस्थामा पुगेका छन् । लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा वितरण गरेको एम्बुलेन्स सञ्चालन गर्न धौ धौ भएको छ ।

कान्छारामले एम्बुलेन्स वितरण गर्ने क्रममा रामेछापवासीलाई आफूले उपहार स्वरुप एम्बुलेन्स दिएको र एम्बुलेन्सलाई छोरी सरह हुर्काउने जिम्मेवारी सम्बन्धि वडावासीको भएको बताउनुभएको थियो । तर गाउँपालिकाहरुले नै एम्बुलेन्स खरिद गरेर निशुल्क रुपमा सञ्चालन गर्ने क्रम बढेपछि कान्छारामले दिएको एम्बुलेन्स अलपत्र पर्ने क्रम सुरु भएको छ । एम्बुलेन्स नभएका स्थानीय तहमा तीन नम्बर प्रदेश सरकारले एम्बुलेन्स र शव बहान वितरण गर्ने कार्यक्रम अगाडि बढाएको छ ।

स्थानीय सरकारका जनप्रतिनिधिहरुले कान्छारामले प्रदान गरेको एम्बुलेन्स कांग्रेसका संघ संस्थाले आफूहरुलाई वितरण गर्न नमानेको गुनासो गरेका छन् । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले कान्छारामले सुनापती–४ बेथानमा वितरण गरेको एम्बुलेन्स स्थानीय सरकारलाई सञ्चालन गर्न दिन आग्रह गर्दा पनि अस्वीकार गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जनताको सुविधाको लागि आएको एम्बुलेन्स वडा कार्यालय मार्फत सञ्चालन गर्न आग्रह गरेका हौ, तर उहाँहरु (कांग्रेस)ले दिन मानिरहेको छैन ।’

कान्छारामले लिखु तामाकोसी गाउँपालिका–२ सैपुको लागि वितरण गरेको एम्बुलेन्स सञ्चालन गर्न पनि कठिनाई भएको छ । पुष्प बिम्ब युवा समाजले सञ्चालनको जिम्मेवारी दिए पनि वडा कार्यालयले जिम्मेवारी नलिदा व्यवस्थापनमा कठिनाई भएको समाजमा कोषाध्यक्ष सौभाग्य गौतमले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्स चालकलाई मासिक २० हजार दिनुपर्छ, एम्बुलेन्स मर्मत गर्नको लागि बिरामीबाट लिने शुल्कबाटै गर्नुपर्छ ।

समाजले सञ्चालन गरिरहेको एम्बुलेन्सले सैपुबाट काठमाडौं बिरामी लैजानको लागि ८ हजार लिने गरेको छ । तर लिखु तामाकोसी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्सले भने निशुल्क रुपमै बिरामी बोक्ने गरेको छ । सडक राम्रो नहुँदा एम्बुलेन्समा बारम्बार समस्या आउने गरेको छ । विगत १५ दिनदेखि सैपुको शिरिसेमा कान्छारामले वितरण गरेको एम्बुलेन्स मर्मत हुन नसक्दा थन्किएको छ । तर कोषाध्यक्ष गौतमले भने एम्बुलेन्स मर्मत गर्नको लागि मिस्त्री बोलाइएको बताउदै वडा कार्यालयबाट सहयोग नहुँदा समाजले नै व्यवस्थापनको काम गर्दै आएको रामेछाप न्युजलाई बताउनुभयो ।

कान्छारामले व्यक्तिगत खर्चमा एकैपटक ६ वटा एम्बुलेन्स वितरण गरेका थिए । ६० लाखभन्दा बढीको व्यक्तिगत लगानी गरी एम्बुलेन्स हस्तान्तरण गरेपनि नियमित रुपमा सञ्चालन हुनेमा आशका जन्मिएको छ । कान्छारामले उमाकुण्ड गाउँपालिकाको प्रिति भुजी र गुप्तेश्वरलाई सेवा दिने गरी एउटा, सुनापति गाउँपालिकाको बेथानलाई एउटा, दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बा दुई वटा, मन्थली नगरपालिकाको गेलुमा एउटा र खाँडादेवी गाउँपालिकालाई एउटा गरी छ वटा एम्बुलेन्स वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्