अब ग्यास चुलोको सट्टा इन्डक्सन चुलोः कुलमान घिसिङ



३० कात्तिक, काठमाडौं ।
नेपाल विद्युत प्रधिकरणले विद्युत्को खपत बढाउने रणनीतिक योजना अगाडि सारेको छ । प्राधिकरणले उपभोक्ताले चाहिजति विद्युत प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि सारेको हो । यसैगरी, प्राधिकरणले वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तर रुपमा अगाडि बढाएको छ ।
प्राधिकरणले वितरण केन्द्रहरुलाई आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरहरुमा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप्प र स्तरोन्नति गर्न निर्देशन दिएको छ ।

प्रदेश ३ को प्रादेशिक कार्यालय काठमाडौं अन्तर्गतका वितरण केन्द्रप्रमुखहरुसँग कार्यसम्पादन सम्झौता कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् खेर जान नदिई खपत गर्नका लागि वितरण प्रणालीको सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।
‘विद्युत खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्ने गरी अगाडि बढिरहेका छौं, इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचना बनाउनु पर्छ, त्यसका लागि आफ्नो क्षेत्रमा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गर्नुहोस्’,वितरण केन्द्र प्रमुखहरुलाई निर्देशन दिंदै घिसिङले भन्नुभयो ।

‘यसबाट एकतर्फ उभोक्ताले चाहिएजति विद्युत् खपत गर्ने पाउँछन् भने अर्कोतर्फ वितरण प्रणाली पनि विश्वसनीय र भरपर्दो बन्ने छ ।’ उहाँले वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भयो । प्राधिकरणले उपभोक्ताकोमा विद्युत् पुर्याउन ५०, १००, २००, ३०० र ५०० केभीएका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ ।

प्राधिकरणले तीन वर्षमा नयां निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभीए क्षमताका वितरण सव्स्टेसनहरु प्रणालीमा थप गरेको छ । करिव दश हजार वितरण ट्रान्स्फर्मरहरु थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाइएको छ । चालु आर्थिक वर्षमा निर्माणाधीन माथिल्लो तामाकोसी लगायतका जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भई करिब एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्रक्षेपण गरिएको छ ।
सरकारले विद्युतको पहुँच र खपत बढाउन तीन वर्षभित्रमा मुलकभर शत्प्रतिशत विद्युतीकरण गर्ने घोषणा गरेको छ । प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गर्ने गरी काम गरिरहेको छ ।
उत्पादित विद्युत्लाई खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यसको समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन र उद्योगलाई विद्यत् आपूर्ति दिन सहजीकरण गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्