एसियामा नेपालको नाम चम्काउदै रामेछापका घिसिङ



मंसिर १, काठमाडौं ।
इन्डोनेसियाको बालीमा भएको एसिया रग्बी संघको निर्वाचनबाट रामेछाप निवासी टंकलाल घिसिङ ‘टलक’ सदस्यमा निर्वाचित हुनुभएको छ । एसियाका २८ देश सहभागी निर्वाचनमा घिसिङ सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल रग्बी संघका संस्थापक अध्यक्ष रहनुभएका घिसिङले चीनसँग प्रतिस्पर्धा गर्नुभएको थियो ।

अध्यक्ष सहित ११ सदस्यीय एसिया रग्बी संघमा नेपालले पहिलो पटक सदस्य जितेको हो । २८ देश सहभागी भएको निर्वाचनमा आफू सदस्यमा निर्वाचित हुन पाउदा निकै खुसी लागेको नवनिर्वाचित सदस्य घिसिङले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘निकै कडा प्रतिस्पर्धाकोबीच मैले सदस्य जित्न सफल भएको छ, यो नेपालकै लागि खुसीको विषय हो ।’

घिसिङकै पहलमा १८ महिना अघि नेपालले रग्बी संघको सदस्यता प्राप्त गरेको थियो । सन् २०१२ मा नेपालमा रग्बी संघ गठन भएको थियो । तर निस्क्रिय रहेको संघलाई घिसिङकै पहलमा सक्रिय बनाउने काम भएको थियो । नेपालमा १७ वटा जिल्लामा रग्बी संघ गठन भएको छ । त्यसैगरी ८ वटा क्लब गठन भएको छ भने १ सय ५० भन्दा बढी विद्यालयहरुमा रग्बी खेल सञ्चालन हुँदै आएको छ । घिसिङ एसिया रग्बिमा निर्वाचित भएसँगै वर्ल्ड रग्बीमा जाने ढोका खुलेको छ । सदस्यमा निर्वाचित घिसिङ नेकपाका युवा नेता समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्