कांग्रेस नेता चौलागाईको पैसा फिर्ताः सुनापती गाउँपालिकाले नै किन्यो विद्यालय बस



स्नेहा सिलवाल
४ मंसिर, रामेछाप ।
विद्यालयको बसमा नाम राख्नु पर्ने अडान राखेपछि नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईको पैसा फिर्ता गरेर गाउँपालिकाले नै विद्यालय बस खरिद गरेको छ । सुनापती गाउँपालिका–१ गुन्सीस्थित शतलिङ्गेश्वर माविको लागि चौलागाईले बस खरिद गर्न दिएको पैसा फिर्ता गरेर गाउँपालिकाले नै बस गरिद गरेको हो । विद्यालयको बसमा चौलागाईले आफ्नो नाम पार्टीको पद लेख्नु पर्ने अडान राख्नुभएको थियो ।
विद्यालयको बसमा व्यक्तिको नाम र पार्टीको पद राख्दा राम्रो सन्देश नजाने भन्दै वडा अध्यक्ष राजु चौलागाई ‘चण्डेश्वर’को पहलमा बस गरिद गर्न चौलागाईले दिएको २१ लाख ७५ हजार ६ सय ५० रुपैयाँ पैसा फिर्ता गराउनुभएको छ । विद्यालय व्यवस्थापन समितिले खरिद गरेको बस विद्यालयमा आइपुगेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष चौलागाईले बस खरिदको लागि २६ लाख पचास हजार रुपैयाँ खर्च भएको रामेछाप न्युजलाई बताउनुभयो ।

‘विद्यालयमा बस आइपुगेको छ, अब सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ ४ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयमा टाढाबाट आउने विद्यार्थीहरुलाई कठिनाई भएको कारण पहिलो पटक विद्यालय बस गरिद गरेको छ । सुनापती गाउँपालिकाको पाँच वटा वडामा पहिलो पटक विद्यालयले बस खरिद गरेको हो ।

बस सञ्चालन भएसँगै वडाको सिमपानी, धारापानी, बोझिनी, ढोडेनी, गुन्सी किल्केटार, खिम्तीवेसी लगायतका विद्यार्थीहरुलाई सुविधा हुने भएको छ । वडाभरी विद्यार्थी ल्याउनको लागि बस सञ्चालन भएपछि विद्यार्थीको संख्यामा समेत बृद्धि हुने विश्वास वडा अध्यक्ष चौलागाईले गर्नुभएको छ ।

‘विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने कार्यमा जुटेका छौ’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘एडिबीको सहयोगमा नयाँ भवन निर्माण हुने चरणमा छ, विद्यालयको भौतिक पूर्वाधार निर्माणसँग गुणस्तरीय शिक्षामा जोड दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्