विकास निर्माणको काम गुणस्तरीय गर्न मन्त्री ढुंगेलको निर्देशन



६ मंसिर, काठमाडौं ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र सञ्चालित विकास निर्माणको काम गुणस्तरीय नभए कारवाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले विकास निर्माणको कामको नियमित अनुगमन गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि आग्रह गर्नुभएको छ ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले भन्नुभयो,‘रामेछाप जिल्लाको विकास निर्माणमा ठूलो बजेट विनियोजन भएको छ, विकास निर्माणको काममा ढिलासुस्ती गर्ने र गुणस्तरहिन काम गर्ने कुरा सह्य हुँदैन ।’ गुणस्तरतमा कुनै पनि सम्झौता हुँदैन, विकास निर्माणेको संरचना दिगो र गुणस्तरीय हुनुपर्छ, उहाँले भन्नुभयो ।


रामेछाप जिल्लामा प्रदेश–३ सरकारका ठूला योजनाका काम तीव्र रूपमा अघि बढेको छ । प्रदेश सरकारले अगाडि बढाएको सडक निर्माणको कामले रामेछापवासी उत्साहित भएका छन् । मन्त्री ढुंगेलले पूर्वाधार विकास कार्यालय रामेछापलाई सडक निर्माणको कामको गुणस्तरीय बनाउनको लागि नियमित अनुगमन र समन्वय गर्ने निर्देशन दिनुभएको बताउनुभयो ।

हाल सित्खा–भीरपानी–गोगनपानी, मन्थली–गोगनपानी र मन्थली–सानीमदौं–रालटार सडक कालोपर्ने गर्ने योजनामा झन्डै ४० प्रतिशतको हाराहारीमा काम सकिएको पूर्वाधार विकास कार्यालयले बताएको छ । प्रदेश सरकारले यस आर्थिक वर्षमा जिल्लाका २७ वटा सडक निर्माण काम अगाडि बढाएको छ ।

तीमध्ये ११ वटा कालोपत्रे र अन्य सडक सुदृढीकरणको काम रहेका छन् । हलेदे–धोबी–ढाँडे, हिलेपानी–च्यास्कु–कोलञ्जोर, मन्थली–भलुवाजोर, गाईखुरा–चिसापानी, मन्थली–सुनारपानी–सालु, खैरेनीघाट–राकाथुम–गौश्वारा, हिलेपानी–कुशवसेरी र सित्खा–आँपचौर–चुल्ठेपानी सडक कालोपत्रे गर्ने काम अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्