पुरुषबाट मात्र होइन, महिलाबाटै महिला नै हिंसामा



हामी १६ दिने लैंगिक हिंसा विरुद्धको महान अभियान मनाउने तयारीमा छौ। “समानताको पुस्ता ,बलात्कार विरुद्ध एक्यवद्धता“भन्ने मुल नाराका साथ यस अभियान को सुरुवात भएको छ । लिङ्गका आधारमा मान्छे माथि हुने सबैखाले हिंसाको अन्त्य हुन जरुरी छ । लैंगिक हिंसा भन्ने बित्तिकै महिला वा पुरुष दुबै माथि हुने हिंसा भन्ने बुझिन्छ । सबैभन्दा पहिला हामीले हिंसा भनेको के हो ?

कस्तो प्रकृतिको घटनालाई हिंसा भनिन्छ त्यो बुझ्न आबश्यक छ । लैंगिक हिंसाको परिभाषाभित्र पुरुष तथा महिला दुबै माथि हुने हिंसा परे पनि नेपाल जस्तो पितृसतात्मक सोच र रुढीबादी सामाजिक ब्यबस्थाले जरो गाडेको देशमा पुरुष माथि हुने हिंसा न्यून हुन्छन् भने महिला माथि हुने हिंसा को संख्या असंख्य हुन्छन् । महिला माथि गरिने हिंसाको संख्या बढी हुने भएकाले लैंगिक हिंसा भन्ने बित्तिकै महिला वा स्त्री जाती माथि हुने हिंसा भन्ने बुझिन्छ । नेपालमा महिला तथा किशोरीमाथि हुने हिंसाले नराम्रोसँग जरा गाडेको छ । पछिल्लो समयमा विभिन्न निकायबाट गरिएको अध्ययन प्रतिवेदन अनुसार नेपालमा औसत प्रत्येक पाँच जना महिलामध्ये कम्तीमा एक जना आफ्नो जीवनकालमा मानसिक वा शारीरिक तथा अन्य प्रकारको हिंसा भोग्न बाँध्य छन् ।

हिंसामा परेका महिला तथा बालबालिकाले आफूमा भएका घटनाको कुरा बाहिर ल्याउन चाहादैनन् । अरुलाई सुनाउदैनन, घरायसी तथा सामाजिक बन्धन तोडेर हिंसा पीडित महिला तथा किशोरीहरु कुनै कानुनी उपचार कक्ष वा वकिल तथा मनोसामाजिक परामर्शदाताकोमा पुग्ने सहयोग लिने कुरा त धेरै परको कुरा हो । यसमा खासगरी ग्रामीण भेगका अशिक्षित किशोरीहरु पर्दछन ।

सहरी क्षेत्रमा शिक्षित भनिएका महिला तथा किशोरीहरु पनि यस्ता हिंसाका घटना बाहिर ल्याउन आँट गर्दैनन् । कारण सामाजिक तिरस्कारको सामना गर्नु पर्छ भनेर नै हो । यसरी जताबाट हेर्दा पनि हिंसाको शिकार भनेको महिला नै हुने हुन्, ग्रामीण भेगमा भनौ वा शहरी क्षेत्रमा होस् आफ्नै परिवार, नातागोता, छरछिमेकीबाट नै कुटपिट जबर्जस्तीकरणी मानसिक यातना दाइजोको नाममा बहिष्कार, बोक्सीको नाममा यातना र बहुबिवाहजस्ता अनेकौं हिंसामा परेका चेलीहरु धेरै छ्न । घर बाहिर सडक देखि सवारी यातायात, सार्वजनिकस्थानमा पनि महिला माथि हुने हिंसा छन् यी सबै लिंगका आधारमा महिला माथि हुने हिंसा हुन ।

आफू माथि हुने हिंसालाई कानुनी उपचारका लागि उजुरी गर्ने निकायसम्म पुग्ने हिम्मत निकाल्न अझै कति समय लाग्ने हो भन्न सकिन्न र त्यो हिम्मत कसरी सिर्जना गराउने भन्ने तर्फ पनि सरकार र नागरिकहरुको ध्यानाकर्षण हुन जरुरी छ । र हामी सबैले सचेतना जगाउनु पर्दछ । बल्लतल्ल प्रहरी र न्यायिक समितिमा उजुरी आए भने पनि त्यसमा पनि आधा भन्दा बढी त बिवाहित महिलाको हकमा मुख्य पीडक भने श्रीमान नै देखिन्छन् । महिला माथि पुरुषले मात्रै हिंसा गर्छन् भन्ने छैन, महिलाबाट महिला नै हिंसामा परेका छन् । जस्तै सासुबुहारी, नन्दभाउजू, सौता सौता बाट पनि हिंसा हुन्छ । यो हाम्रो सङ्किर्नता र साँघुरोसोच को उपज हो । त्यसैले हिंसाको अन्त्य तबसम्म हुदैन जबसम्म हामीले आफ्नो सोच बदल्दैनौ ।

प्रमिला सुवेदी

पहिला आफू बदल्न जरुरी छ त्यसपछि समाज बदल्न सकिन्छ । हामीले यो पनि बुझ्न जरुरी छ कि कसैमाथि हिंसा गर्नु अपराध हो भने, आफूमाथी भएको हिंसा सहनु पनि ठुलो अपराध हुनेछ भन्ने भुल्नु हुदैन । समाजमा इज्जत जाने डरले हामी आफू माथि भएको हिंसाको घटनालाई बाहिर ल्याउन चाहदैनौ त्यो गलत हो । हिंसा महिला पुरुष दुबै माथि हुन सक्छ तर पुरुषले यस्ता घटना बाहिर निकाल्न झन् चाहदैनन पनि सदियौ देखि पितृसत्तात्मक सोच र चिन्तन ले ग्रसित समाजमा महिलाबाट म पीडित भएको उजुर गर्दा आफू नालायक ,नामर्द पो भैइन्छ कि भन्ने लज्जाबोधको डरले पनि हिंसामा परेको कुरा गर्न सकिरहेका छैनन । तर यो सरासर गलत बुझाइ हो । पहिला के बुझ्न जरुरी छ भने हामी मानव हौं । हामी कुनै बेला जुनसुकै तरिकाबाट हिंसामा पर्न सक्छौ । यसको सामना गर्न हामी तयार हुनुपर्छ । हामीले हिंसा गर्न पनि हुन्न र सहनु पनि हुन्न यति बुझ्नुपर्छ ।

मूलतः लिङ्ग प्रकृतिले निर्धारण गर्ने कुरा हुन् भने लैंगिकता हाम्रो समाज र सामाजिक सांस्कृतिक अभ्यासले निर्धारण गर्छ । त्यसकारण समाजमा हामीले महिला वा पुरुष भएकै आधारमा निभाउनु पर्ने भुमिका जिम्मेवारी काम , कर्तव्य यी लैंगिक हुन । जुन कुरा हाम्रो सामाजिक मुल्य र मान्यतामा आधारित छन् । घरको काम जति महिलाले मात्रै गर्नुपर्ने र बाहिर आय आर्जनको काम चै पुरुषले गर्ने भन्ने छ । आजको एक्काइसौं शताब्दी जुन विज्ञान र प्रविधिको युग अनि विकास र परिवर्तनकारी युग यी मान्यताहरुमा परिवर्तन हुन जरुरी छ ।

तथापि पहिलेको तुलनामा आज त धेरै कुरामा अगाडि छन् महिलाहरु पनि । तर बाहिर काम गर्ने कुरामा भने समय निर्धारण गरिन्छ । केही पुराना सोचहरु त्याग्नुपर्छ र छोडिँदै पनि छ्न। केही भएन भन्ने हैन लैङिगक समानताका उपलब्धि पनि भएका छ्न । महिलाको लागि कामको सिलसिलामा विभिन्न किसिमका हिंसाजन्य घटना हुनसक्छ लिंगका आधारमा कुनै पनि अपमानजनक शब्द र पीडा दिने काम कोही कसैले गर्न हुदैन । महिला वा पुरुष दुबैले आफ्नो स्वतन्त्रता उपभोग गर्नबाट बन्चित गराउन हुदैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि हामी दिनहँु हिंसा भोगिरहेका देखिरहेका र सुनिरहेका हुन्छौं । यसलाई सजिलै निर्मूल पार्न सकिदैन तर कानुनी व्यबस्थालाई अलि कडासँग लागू गर्नु पर्ने देखिन्छ ।
लैंगिक हिंसा विरुद्ध कैही कानुनहरु त बनेका छन् बनेको कानुनी विधि र प्रक्रियालाई पुर्ण रूपमा कार्यन्वयन गर्न सम्बन्धित निकाय र स्थानीय तहको तयारी हुदाहुँदै पनि कार्यबन्यनमा समस्या आउने गरेका छ्न । कानुन बनाउने त्यसलाई व्यबहारमा लागू नगर्ने हो भने पनि त्यसले खासै अर्थ राख्दैन बनेको कानुन महिलामैत्री भए पनि समयसापेक्ष कार्बन्वयन गर्ने कुरामा फितलो हुनुले गर्दा हाम्रो समाजमा हिंसाका घटना घटिरहने अनि दोषी खुलेआम बाहिर हिड्ने प्रवृत्ति पनि त्यतिकै छ ।

हाम्रो देशमा महिला हिंसा हुने कारण धेरै छन् । महिलाप्रतिको पुरुषबादी दृस्टिकोण महिलाहरुको उत्पादन तथा आयाआर्जन गर्ने निकायमा कम पहुँच, शिक्षाको कमि आदि कुरा हुन ।जस कारण हिंसाका घटना बढ्दै जाने र दोषीले उन्मुक्ति पाइरहने क्रम बढ्दो छ । यसो भनिरहदा के साच्चिकै देशमा लैंगिक हिंसा रोक्ने केही प्रयास भएको छैन त ? समय पहिले जस्तै छ त ? यस्ता कुरा आउछन्, हो समय परिवर्तनशिल छ समयसँगै धेरै कुरा परिवर्तन भएका छन् ।आज देशको प्रमुख राष्ट्रपतिको रूपमा महिला हुहुहुन्छ ।सभामुख देखि न्यायाधीशसम्म महिला पाएका छौ , हिजो घरबाट बाहिर ननिस्कने महिला दिदिबहिनीहरु आज आफ्नो हकअधिकारका लागि आवाज उठाउन सडकसम्म आउने हुनु भा’छ ।

न्यायको लागि कानुनी दायरामा आउनसक्ने हुनुभा छ यो नै ठूलोे उपलब्धि हो । अहिले साधन र स्रोतका आधारमा महिला पुरुषको समान आधिकार सहभागिता ,नीति निर्माण र कार्यन्वयन गर्नै ठाँउमा महिलाको समान सहभागीता भने पनि खासमा चैँ त्यो भइरहेको छैन । अन्य विकसित मूलुकहरु जस्तै हाम्रो नेपालमा पनि कानुनले महिलालाई अधिकारसम्पन्न भनेको छ, नेपालको संविधान एउटा यस्तो महत्वपूर्ण दस्तावेज हो जसले लैंगिक हिंसा न्यूनीकरण र महिला समानताको लागि राष्ट्रिय कानुनी प्राबधानको ब्यबस्था गरेको छ । कसैलाई पनि समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन भन्ने उल्लेख छ । समानता र हिंसा न्यूनीकरण गर्न राज्यले विभिन्न किसिमले पहल गर्दै आएको छ । कानुनी उपचार, सामाजिक संरक्षण, सामुदायिक अग्रसरता, लैंगिक हिंसा सम्बोधन प्रणालीजस्ता प्रयासमार्फत् लैंगिक हिंसा न्यूनीकरणका लागि कार्य गर्दै आएको छ । यस्ता प्रयासले लैंगिक हिंसा न्यूनीकरणमा ठुलो योगदान पुर्याएको छ । यसले लैंगिक समानताका लागि समेत काम गरिरहेका छन् । तर यी संरचना र कानुनी व्यवस्था हुनु र गरिनु पर्याप्त होइन।

यिनीहरूको सही र प्रभावकारी कार्यान्वयन आजको मूल आवश्यकता हो । लैंगिक हिंसा मानव कार्य बिपरित हो । यसले एक व्यक्तिलाई मात्रै नभै पुरै समाज र राष्ट्रलाई प्रत्यक्ष असर पारिरहन्छ । समाजमा हुने लैंगिक हिंसाको विरोधमा सबै जना एकजुट हुनु र कानुनी उपचारको बाटो अवलम्बन गर्नु जरुरी छ । होइन भने १६ दिने होइन बर्षेनी यस्ता अभियान चलाए पनि प्रभावकारी हुन सक्दैन । त्यसकारण हामी सम्पूर्ण एकजुट भै यस्ता कार्यमा सहभागी बनौ । हिंसा आफू पनि नगरांै,हिंसा सहेर पनि नबसौ ।

(लेखक सुवेदी मन्थली नगरपालिकाका कानुनी सहजकर्ता हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्