गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्दै रामेछापका प्रजिअ केसी



जिबी लामा
९ मंसिर, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे केसी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्ने कामलाई अभियान सञ्चालन गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाको बारेमा उहाँले जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने अभियान अगाडि बढाउनुभएको हो ।

प्रजिअ केसीले नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि जनप्रतिनिधि र नागरिकहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नागरिकमैत्री सेवा प्रवाह गर्ने कार्यमा हामी लागि परेका छौं ।’ जिल्ला प्रशासन कार्यालय रामेछाप लगायत सम्पूर्ण सेवा प्रवाह सम्बन्धि वडास्तरीय अन्तरक्रिया कार्यक्रम अन्तर्गत असुनापती गाउँपालिका ४ बेथानको वडा कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्र्तक्रिया कार्यक्रममा वडा अध्यक्ष खड्क घिसिङले आफूलाई काम गर्न परेको समस्या प्रजिअसँग राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुबाट नागरिकता बितरणमा समस्या, भुकम्प प्रतिरोधी घर पुनः निर्माण अनुदान लगायतको बिषयमा प्रश्न गरेका थिए । प्रजिअ केसीले जनताको गुनासो सम्बोधन गर्न आफूले ध्यान दिने जवाफ दिनुभयो । उहाँले बिकास निर्माणको काम सँगसंगै सामाजिक सचेतनाको काम समेत अघि बढाउन आग्रह गर्दै वडाको समृद्धि र विकासको लागि सहजिकरण र समन्वयात्मक भुमिका निर्वाह गर्न हरबखत तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्