नयाँबानेश्वरमा डाक्टरलाई किचेर भागेको बस रामेछापमा भेटियो



काठमाडौं, १० मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर भागेको बसलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । बसको किच्दा डाक्टरको घटनास्थलमै निधन भएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा सिसी क्यामेराको फुटेजको आधारमा आइतवार राती रामेछापबाट बस र बसका चालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले ठक्कर दिने बस र बसका चालकलाई राती नै नियन्त्रणमा िलएर काठमाडौं पठाइएको रामेछाप न्युजलाई बताउनुभयो ।

रामेछापबाट बा ४ ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गर्दै चालकमाथि अनुसन्धान सुरु गरेको बताउनुभो । आइतबार बिहान मर्निङ वाकमा हिड्ने क्रममा बसको ठक्करबाट जोशीको घटनास्थलमै मृत्यु भएको थियो । जोशीलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएर भागेको थियो ।

प्रतिक्रिया दिनुहोस्