उपनिर्वाचनः उमाकुण्ड गाउँपालिकाको प्रितिमा २ सय सुरक्षाकर्मी परिचालन, सुरक्षा व्यवस्था कडा



१३ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भोली हुने वडा अध्यक्षको उपनिर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । उपनिर्वाचनको लागि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे केसीले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुनेछ । उपनिर्वाचनको लागि नेपाल प्रहरी शसस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले भोली हुने वडा अध्यक्षको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको बताउदै सबै नाकामा निगरानी बढाइएको बताउनुभयो । प्रितिमा हुने वडा अध्यक्षको निर्वाचनलाई सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएको छ । नेकपाबाट निवर्तमान वडा अध्यक्ष कुलबहादुर बस्नेत र कांग्रेसबाट सावित्री सुनुवार सहित चार दलले उम्मेदवारी दिएका छन् । १७ सय ४९ मतदाता रहेको प्रितिमा निर्वाचनको लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । तत्कालिन नेकपाबाट निर्वाचित कुबेर खत्रीको निधन भएपछि रिक्त वडा अध्यक्षको लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्