तीन बर्षभित्र देशको सबै क्षेत्रमा विद्युतीकरण गछौंः कुलमान घिसिङ



१७ मंसिर, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी तीन बर्षभित्र देशभित्र शतप्रशित विद्युतीकरणको काम सम्पन्न गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । उहाँले पाँच बर्षभित्र प्रतिव्यक्ति उर्जा खपत सात सय युनिट पुरयाउने सरकारको घोषणा कार्यान्वयन गर्ने प्राधिकरणको प्रमुख जिम्मेवारी रहेको बताउनुभएको हो ।
विद्युत् खपत बढाउन थ्री फेज मिटर प्रयोगमा प्रोत्साहन गर्न, ग्राहक केन्द्रित भएर सेवा प्रवाह गर्न, आफ्नो नैतिक लेखापरीक्षण आफैँ गरी वित्तीय अनुशासनमा रहन प्राधिकरणले सचेतता अपनाएको छ । चुहावट नियन्त्रणलाई प्रभावकारी अभियान चलाउन, बक्यौता असुलीमा कडाइ गर्न र दिइएका लक्ष्य पूरा गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिनुभयो । उहाँले विद्युत् खपत बढाउन आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरमा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप्न र स्तरोन्नति गर्न वितरण केन्द्रहरुलाई निर्देशन दिनुभयो ।
प्राधिकरणले प्रदेश नं २ मा चालू आवमा नै चुहावटलाई १०.९७ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । चालू आवको गत असोजसम्म प्रादेशिक कार्यालयको औसत विद्युत् चुहावट १९.६१ प्रतिशत छ । त्यसलाई करिब आठ प्रतिशतले घटाउने लक्ष्य निर्धारण गरिएको छ । प्रदेश नं २ मा पर्ने आठ जिल्लाका २३ वितरण केन्द्र सञ्चालनमा छन् । तत्कालीन जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर र सिन्धुलीका वितरण केन्द्रलाई सम्बन्धित प्रदेशका प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।

प्रदेश नं २ को राजधानी नै रहेको धनुषा नै सबैभन्दा बढी विद्युत् चुहावट हुने क्षेत्रका रुपमा परिचित थियो । धनुषामा सबैभन्दा बढी ४६.७६ प्रतिशत विद्युत् चुहावट रहेको थियो । प्राधिकरणले धनुषास्थित यदकुहा वितरण केन्द्रलाई २५ प्रतिशतमा चुहावट झार्ने लक्ष्य दिइएको छ । त्यसपछि दोस्रो बढी ४४.७० प्रतिशत चुहावट रहेको बाराको कलैया वितरण केन्द्रलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कूल ४४.१८ प्रतिशत विद्युत् चुहावट रहेको सिराहाको लहान वितरण केन्द्रलाई १९.७७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणको व्यवस्थापनले आज विद्युत् चुहावट नियन्त्रण, राजश्व सङ्कलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गर्नुभएको हो । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्