चर्चित डिएसपी कुमुद ढुंगेलको विरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं, १८ मंसिर । नेपाल प्रहरीका निलम्बित प्रहरी नायब उपरिक्षक डिएसपी कुमुद ढुङ्गेल विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै ढुङ्गेल प्रहरीकै फरार सुचीमा रहेका छन् । गत वर्ष चैत्र २६ गते राजधानीको रानीबारीस्थित लालेन्द्र श्रेष्ठको घरमा भएको लुटपाटको घटनामा ढुङ्गेलको समलग्नता खुलेको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर रौतहटमा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखि म्यासेज आदान प्रदान सम्म भएको र डकैती अभियोगमा हाल जेल जीवन विताइ रहेका विकास श्रेष्ठसँग ढुङ्गेलले पटक–पटक सम्पर्क गरेको खुलेको थियो । त्यति मात्रै होइन घटना हुनु केहि दिनअघि समेत विकाससँग ढुङ्गेलको भेट भएको खुलेको थियो ।

तत्कालिन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले वैसाख ६ गते चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ विक्रम श्रेष्ठ, र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले प्रयोग गर्ने बा ३ च ७१६४ कलेजी रङको ट्याक्सी र बा २ ज ३०६१ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले शेरचनकी श्रीमती भानुदेवि शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेका थिए ।

गुण्डा नाइकेको रुपमा चिनिएका समिरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक पटक सम्पर्क देखिएको थियो ।
त्यतिमात्रै होइन डिएसपी ढुङ्गेलको खातामा अकुत रकम देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानकिन थालेको थियो ।
महानगरीय प्रहरी बृत सोह्रखुट्टेले डकैतीमा समलग्नहरुलाई मुद्दा लगाएको थियो । ढुङ्गेललाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौं प्रहरी परिसर र सोह्रखुट्टे प्रहरीले खोजी जारि राखेको छ ।

पक्राउ पुर्जी जारी भएको २ हप्ता वितिसक्दा पनि ढुङ्गेल भने पक्राउ पर्न सकेका छैनन् ।
गुण्डा नाइकेको रुपमा चिनिएका दिनेश अधिकारी चरीलाई इन्काउन्टर गरेपछि ढुङ्गेल चर्चामा आएका थिए । डिएसपी ढुंगेलले रामेछापमा सुन्तली तामाङको बलात्कारपछि हत्या गरिएको अभियुक्तलाई सात बर्षपछि पक्राउ गरेर चर्चामा आएका थिए । प्रतिनिधिसभा निर्वाचनमा नेकपाका उम्मेदवारलाई कार्यक्रम गर्न नदिएको भन्दै आलोचित बन्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्