यसरी गर्न सकिन्छ रामेछापमा पर्यटन क्षेत्रको विकास



गेली शेर्पा

रामेछाप जिल्ला तीन नम्बर प्रदेश अन्तर्गको हिमाली जिल्ला हो । यस जिल्लामा विभिन्न विकासका सम्भावनाहरु छन । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला भएर पनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेको छ । रामेछाप जिल्ला आन्तरिक र बाह्य दुबै पर्यटकको गन्तव्यस्थल रहेका छन् । रामेछापको सम्भावित पर्यटकीय गन्तव्यको विकासको लागि सम्भाव्यता अध्ययनको काम समेत अहिलेसम्म हुन सकेको छैन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको जटापोखरी र नुम्बुर चुली कुमारी हिमाल भएका कारण रामेछापलाई हिमाली जिल्ला भनिएको हो । रामेछापको सैलुङ, खाँडादेवी मन्दिर, सुनापती डाँडा, थानापती महादेव सहित जिल्लाको दर्जनौ प्राकृतिक, धार्मिक गन्तव्यहरु रहेका छन् ।

रामेछापमा पर्यटन विकासका धेरै ठुला सम्भावना बोकेको जिल्ला हो । जिल्लामा साना तथा ठूला पर्यटकीय गन्व्यहरुको योजनाबद्ध विकासका योजना बनाएर अघि बढाउन सके भविष्यमा संसारभरका पर्यटकलाई रामेछापमा आर्कषित गर्न सकिन्छ । आन्तरिक पर्यटन विकास गर्न खासै ठूलो खर्च पनि गर्नु पर्दैन । न्युनतम सेवा सुविधा र प्रचार प्रसारबाटै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।

जिल्लाभित्र रहेको धार्मिक र प्राकृतिकस्थलको प्रचार–प्रसार मात्रै गर्न सके पनि आन्तरिक पर्यटन विकास गर्न सकिन्छ । तर विदेशी पर्यटक आर्कषण गर्नको लागि भने केही भौतिक पूर्वाधारको विकास र न्युनतम सेवा सुविधा चाहिन्छ । विदेशी पर्यटक सजिलै आउदैनन् । पर्यटक आउने वातावरण सृजना गर्नको लागि न्युनतम सेवा सुविधा होटल, होमस्टे लगायतको व्यवस्थापन गर्न जरुरी छ ।

सरकारले देश विकासको प्रमुख आधार पर्यटन क्षेत्रलाई पनि मानेको छ । पर्यटन क्षेत्रको विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरेर योजनाबद्ध ढंगले विकासको काम अगाडि बढाउनु आजको आवश्यकता हो । पर्यटन क्षेत्रको विकास गर्दा जिल्लाको कुन क्षेत्रलाई महत्व दिने भन्ने विषयमा ध्यान जान जरुरी छ ।
जिल्लाको सदरमुकाम मन्थलीमा विमानस्थल सञ्चालन भएको कारण पनि पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल व्यस्त भएको कारणले नेपाल वायु सेवा निगमले पर्यटकीय गन्तव्य लुक्ला जानको लागि मन्थली–लुक्ला उडान सुरु गरेको छ ।
रामेछापको सदरमुकाम मन्थली पुरानो सदरमुकाम रामेछाप डाँडाबाट गैराथोकको सिरान धोवी डाँडाबाट नमाडीको नोप्रा डाँडा भित्तरी खानी डाँडा हुदै ताँबे डाडा हुदै थोदुङ्ग सर्दिङ्ग हुदै चुचुरेको भाले पोखरीबाट जटा पोखरी नजिकैसम्म सडक विस्तार गर्नु आवश्यक छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । रामेछाप डाँडाबाट माणिडाँडा हुदै गर्जाङ्ग सम्म पुग्नको लागी मोटर बाटोको सुविधा दिन सकियो भने आन्तरिक एवं बाह्य पर्यटकको प्रबद्र्धन गर्न सहज हुनेछ । यस क्षेत्रमा पर्ने ऐतिहासि धार्मिक र प्राकृतिक छटाहरुको अवलोन गर्न सकिने विशेषता रहेको छ । यस पदमार्ग प्राकृतिक र धार्मिक दुबै दृष्टिकोणले निकै रमाईलो छ । बिहानीको सूर्योदयसँगै साझको सूर्यास्तसम्मको दृष्य निकै मनमोहक देखिन्छ ।

रामेछाप जिल्ला हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथासम्म जाने पदमार्ग पनि पर्छ । रामेछाप हुँदै सोलुको दुधकुण्ड हुँदै नुम्बुरचुली कुमारी हिमालको दृष्य हेर्दै पिके पिकसम्म सडक पुर्याउन सकेको अवस्थामा यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्नेछ । सगरमाथासम्म मोटर बाटोको बिकास गर्न सके रामेछाप सोलुखुम्बु जिल्ला संसारकै एक पर्यटकीय जिल्ला बन्न सक्छ । यस क्षेत्रबाट सडक लैजाने हो भने संसारमा प्रकृतिक सुन्दरताको परिभाषा बदलिन्छ । आन्तरिक पर्यटक नै लाखौलाख सगरमाथा हेर्न जान्छन भने दक्षिण एसियाकै करोडौ मानिसले सजिलै सगरमाथाको अवलोकन र भ्रमण गर्दछन । वाह्य पर्यटकको पनि यो बाटो प्रमुख रोजाइमा पर्नेछ ।

सदरमुकाम मन्थलीलाई आधार बनाएर जिल्लाको पश्चिमी क्षेत्र खाँडादेवी हुँदै सैलुङसम्मको पदमार्गको रुपमा विकास गर्न सकिन्छ । त्यसैगरी सिन्धुलीको नेपालथोकको कुशेश्वर महादेवस्थानबाट खनियापानी बेथान सुनापती गाल्वा हुँदै सैलुङसम्म पनि पदमार्गको रुपमा विकास गर्न सकिने धार्मिक र प्राकतिक सौन्दर्यहरु रहेका छन् ।

स्थानीय तहको सरकारले पर्यटन क्षेत्रको विकास गर्ने योजना अगाडि बढाए पनि गुरु योजना निर्माण गरेरै भने काम सुरु गर्न सकेका छैनन् । कुनै पनि काम गर्दा गुरु योजना निर्माण नगरी परिणाम हासिल गर्न सकिदैन । पर्यटन क्षेत्रको विकासको लागि खोज अनुसन्धान गरेर योजना बनाउन आवश्यक छ । निर्वाचनको क्रममा भोट माग्नको लागि हचुवाकै घोषणा गर्ने तर निर्वाचित भएपनि पालिकास्थरमा समन्वय गरेर काम गर्ने जाँगर स्थानीय तहमा देखिएन । पर्यटन क्षेत्रको विकास गर्न योजनाबद्ध रुपमा काम अहिलेसम्म थालेका पाइएको छैन् ।

रामेछापका आठ वटै स्थानीय तहबीच समन्वय भएको अवस्थामा जिल्लाभित्र नै पर्यटकीय गन्तव्यको पहिचान गरेर युवाहरुलाई जिल्लाभित्र नै रोजगारी सृजना गर्न सकिन्छ । रामेछापको भँगेरीदेखि माथि जटापोखरीसम्म हावाबाट बिजुली सहजै निकाल्न सकिन्छ । यसबाट पनि पर्यटन विकासमा सहयोग पुग्नेछ । रामेछापवासीले जिल्लाको विकासको लागि प्रयन्त गरौ । हजारौ सम्भावना बोकेको जिल्लाको विकास गर्ने दायित्व र कर्तव्य पनि आम रामेछापवासीकै हो ।

प्रतिक्रिया दिनुहोस्