कुलमान घिसिङलाई यस बर्षको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान



२० मंसिर, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान र्पुयाए बापत कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो ।नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ ।
नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्याङकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो । २०७३ को भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गर्नुभएको थियो ।
घिसिङले प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई,प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्