एक बर्षभित्र रामेछापको सबै क्षेत्रमा बिजुली बल्छः कुलमान घिसिङ



२५ मंसिर, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस आर्थिक बर्षभित्र नै रामेछाप पूर्ण रुपमा विद्युतीकरण हुने घोषणा गर्नुभएको छ । उहाँले जिल्लाभित्र विद्युतीकरणको काम तीब्र गतिमा अगाडि बढेको बताउदै अब रामेछापवासी कोही पनि अन्धकारमा बस्नु नपर्ने बताउनुभएको हो । विद्युतीकरणको लािग आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै घिसिङले काममा ढिलासुस्ती गरेको भए सिधै गुनासो गर्न पनि आग्रह गर्नुभयो ।

बुधवार गृह जिल्ला रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित चापडीमा निर्माणाधिन सबस्टेसनको निरीक्षणपछि रामेछाप न्युजसँग कुराकानी गर्दै घिसिङले,‘देशभर विद्युतीकरणको काम अगाडि बढिरहेको अवस्थामा रामेछाप जिल्ला पनि यस आर्थिक बर्षमा पूर्ण रुपमा विद्युतीकरण भएको जिल्ला घोषणा हुनेछ ।’ विद्युतीकरणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलाई समयसीमाभित्र नै काम गर्न आफूले निर्देशन दिएको बताउनुभयो ।

त्यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिक सबस्टेसनको काम तोकिएकै समयभित्र सम्पन्न गर्ने निर्देशन दिनुभयो । जिल्लाको दोरम्बा सहित तीन स्थानमा सबस्टेसन निर्माणको काम भइरहेको छ । घिसिङले निर्माणाधिन अन्य सब स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याउने बताउनुभयो ।

राकाथुममा निर्माणाधिक सबस्टेसन सम्पन्न भएपछि रामेछाप, काभ्रे र सिन्धुली जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् ।
उक्त अनुगमनको क्रममा खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी सहितको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्