रामेछापका मुख्य सडक सबै कालोपत्रे हुन्छः मन्त्री ढुंगेल



२६ मंसिर, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र विकास निर्माणको लहर चलेको बताउनुभएको छ । उहाँले जिल्लाभित्र सडकसहितका भौतिक पूर्वाधार निर्माणको कामले गति लिएको बताउदै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाइएको बताउनुभयो ।
मन्त्री ढुंगेलले जिल्लाभित्र प्रदेश सरकारले एक दर्जन भन्दा बढी सडकको कालोपत्रे अगाडि बढाएको बताउदै आगामी दिनमा जिल्लाको मुख्य सडक छनौट गरेर कालोपत्रे गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘जिल्लाभित्रको मुख्य सडकको पहिचान भइसकेको छ, अब जिल्लाका मुख्य सडकमा धुलो उडदैन, धमाधम कालोपत्रेको काम अगाडि बढाउछौं ।’ जिल्लाको आठ वटै स्थानीय तहदेखि सदरमुकाम मन्थलीसम्म जोडने सडकलाई कालोपत्रे गरिने गरी योजना बनाएको उल्लेख गर्दै मन्त्री ढुंगेलले ग्रामिण सडकलाई स्तरउन्नती गरेर ग्राबेल बनाउने बताउनुभयो ।
अमेरिकेयर्स फाउण्डेसनको आर्थिक सहयोगमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्धारा गाउँपालिकाकाको केन्द्र माकादुममा निर्माण गरिएको प्रसूति केन्द्र भवनको उदघाटन एवं एम्बुलेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले खाँडादेवी गाउँपालिका नमूना गाउँपालिकाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्