गाल्वामा आधुनिक कभर्ड हल निर्माण गछौंः सांसद श्रेष्ठ



२९ मंसिर, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताउनुभएको छ । उहाँले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा योजनाबद्ध रुपमा विकास निर्माणको काम अगाडि बढेको बताउनुभएको हो । नेकपा रामेछापको सह–इन्चार्ज समेत रहनुभएका सांसद श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा पनि आफूले ध्यान दिएको बताउनुभयो ।
राष्ट्रियस्तरको सिनियर राष्ट्रिय तोक्वान्दो खेलको शनिवार गाल्लामा उदघाटन गर्दै सांसद श्रेष्ठले तीन गाउँपालिकाको संगमस्थल गाल्वामा आधुनिक कभर्ड हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘भौगोलिक रुपमा महत्वपूर्ण रहेको गाल्वामा आधुनिक र सुविधा सम्पन्न कर्भड हल निर्माण गछौं ।’
कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले खेलकुदको विकासमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलकुदको लागि पूर्वाधार निर्माणमा आफूहरुले ध्यान दिएको बताउनुभयो ।खेलमा सात वटै प्रदेशका खेलाडीहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्