गोकुलगंगा गाउँपालिभित्र पहिलो पटक सडक कालोपत्रे हुँदै



१० पुस, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाभित्र पहिलो पटक सडक कालोपत्रे हुने भएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा विनियोजित चार करोड बजेटमा सडक कालोपत्रेको काम अगाडि बढेको हो ।

गाउँपालिकाको केन्द्र रस्नालुको छहरेदेखि भुजीडाँडासम्म १२ सय मिटर सडक कालोपत्रे गर्ने काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाभित्र सडक कालोपत्रेको काम धमाधम अगाडि बढेको छ, आगामी दिनमा थप सडकहरुको कालोपत्रेको लागि डिपिआर तयार पारेर प्रदेश सरकार र संघीय सरकारसँग योजना पेश गरेका छौं ।’

उहाँका अनुसार यस आर्थिक बर्षको लागि १२ सय मिटर सडक कालोपत्रे हुनेछ । अध्यक्ष सुनुवारले गाउँपालिकाभित्रको सबै वडाको टोलटोलसम्म सडक निर्माण गर्ने काम सम्पन्न भएकाले आफूहरुले स्तरउन्नतीको कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाभित्र पाँच सय किलोमिटर सडक निर्माण सम्पन्न गरेका छौ, अब सडकको नयाँ ट्रयाक खोज्दैनौ, भएका सडकलाई राम्रो बनाएर हिउद बर्षा नै सहज रुपमा यातायात सञ्चालन गर्ने बनाउछौं ।’

प्रतिक्रिया दिनुहोस्