कुलमान घिसिङजस्तै प्रशासक भए देशको परिवर्तन सम्भव छः उपराष्ट्रपति पुन



११ पुस, काठमाडौं ।
नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई आज ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । राजधानीमा शुक्रवार आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभयो । साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन सङ्घद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपैया रहेको छ ।

समारोहमा उपराष्ट्रपति पुनले घिसिङ र डा रुइत जस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय नलाग्ने बताउनुभयो । सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने उहाँको भनाइ थियो । उहाँले नैतिकता र जिम्मेवारी नभुल्नसमेत कर्मचारीलाई आग्रह गर्नुभयो ।

“एक जना प्रशासकले इमान्दार भएर काम गर्ने हो भने देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने रहेछ, एकजना चिकित्सक इमान्दार भए सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने रहेछ भन्ने कुरा प्रस्ट भएको छ, देशमा सेवारत सबैले उहाँहरुबाट शिक्षा लिनुपर्दछ”, उपराष्ट्रपति पुनले भन्नुभयो । समारोहमा दुई वर्षको सम्मान एकै पटक प्रदान गरिएको थियो ।

ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पु¥याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको सम्मान छनोट समितिका संयोजक पूर्वसचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्