नेपाल भ्रमण बर्षः हिउ खेल्न जाने होइन त शैलुङ ? (फोटोफिचर)



निरोज पौडेल

२१ पुस, रामेछाप । नेपाल पर्यटन बर्ष २०२० सुरु भएको छ । पर्यटन बर्ष सुरु भएसँगै रामेछाप र दोलखा जिल्लाको संगमस्थल सैलुङमा हिउ खेल्ने आन्तरिक र बाह्य पर्यटकको भिड लागेको छ । राजधानी काठमाडौंबाट करिब १४० किलोमिटरको दूरीमा रहेको सैलुङडाँडा यस बर्ष दोस्रो पटक हिउ परेको छ । समुद्र सतहबाट ३२ सय मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब सयवटा स–साना थुम्काहरूबाट बनेको छ ।

सैलुङका सबै थुम्कामा हिउले ढाक्दाको दृष्य निकै रोमाञ्चक देखिन्छ । यस क्षेत्रमा रहेको सैलुङ गुम्बा, सैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर एवम् थुनजस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक महत्वका क्षेत्रहरु रहेका छन्

सैलुङ डाँडाबाट अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बुर जस्ता सुन्दर हिमालका दृश्य एवम् प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिने दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठ बताउनुहुन्छ । जैविक विविधताले भरिपूर्ण यो क्षेत्र हिमाली जङ्गल र घाँसेमैदानले ढाकिएको र लालीगुराँस, ओखर, सल्लाको जङ्गल रहेको यस क्षेत्रमा करिब १५० प्रकारका जडीबुटीहरू पाइन्छन् ।
धार्मिक दृष्टिकोणले पनि यो क्षेत्र हिन्दु एवम् बुद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीका लागि सैलुङडाँडामा बौद्ध चैत्य र हिन्दुका लागि सैलुङ महादेवस्थान रहेकाले यी दुवै धर्मका अनुयायीका लागि यो स्थान पवित्र मानिन्छ ।सैलुङसम्म सडकको पहुँच पुगेको कारणले गर्दा विगत बर्षदेखि हिउ खेल्ने आन्तरिक एवं बाहय पर्यटकहरुको संख्या ह्वातै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्