प्रदेश ३ को राजधानी बहसः काभ्रे बनाउनु पर्ने बहुमत सांसदको माग



२३ पुस, काठमाडौं । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई बुझाएको प्रतिवेदनका बारेमा सांसदहरुले बहस गरेका छन् ।
छलफलका क्रममा आफ्ना धारणा राख्ने अधिकांश प्रदेशसभा सदस्यले स्थायी राजधानी १३ वटै जिल्लालाई पायक पर्ने काभ्रेलाई बताउनु पर्ने पक्षमा धारणा राखेका छन् । काभ्रेका बसुन्धरा हुमागाईंलगायत केही सदस्यले भने राजधानीका लागि काभ्रेपलाञ्चोक नै उपयुक्त हुने धारणा राख्नुभएको थियो । प्रदेशको १३ जिल्लामध्ये आठ जिल्ला काभ्रेसँग जोडिएको बताउँदै प्रदेशसभा सदस्य हुमागाईंले काठमाडौँबाट नजिक रहेको काभ्रेलाई राजधानी तोक्नुपर्ने बताउनुभयो । उहाँले काभ्रेबाट काठमाडौँ आउजाउ गर्न नजिक हुने हुँदा मन्त्री, नेता तथा कर्मचारीलाई आउजाउमा सहज हुने बताउनुभयो ।
प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि नेकपाका प्रदेशसभा सदस्यहरुबीच सहमति बन्न नसक्दा टुङ्गो लाग्न नसकेको प्रदेश ३ को स्थायी राजधानी र नामको विषयलाई नेकपाको सचिवालयले तोकेरै सुझाव दिएपछि नेकपाकै सांसदहरु नै विभाजित भएका छन् ।
नेकपाका केही सदस्यहरु भने राजधानीका सम्बन्धमा सचिवालयको निर्देशन विपरीत रहेकाले पार्टीले मतदानको समयमा ‘ह्विप’ लगाएरै भए पनि सचिवालयको निर्णयअनुसार नै नाम र राजधानी पारित गराउने तयारीमा रहेको जनाइएको छ । प्रदेश सभामा बहुमत प्रदेशसभा सांसदहरुले प्रदेशको स्थायी राजाधनी हेटौडा उपयुक्त नभएको बताउदै काभ्रेलाई बनाउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्