प्रदेश ३ को नाम ‘वाग्मती’ स्थायी राजधानी ‘हेटौँडा’ बनाउने निर्णय



२५ पुस, हेटौडा ।
प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

उहाँले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताउनुभयो । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिनुभयो । ‘‘दलको बैठकमा प्रदेशसभा सदस्यको धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’’, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उहाँले बताउनुभयो । यही पुस २७ गते प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ ।

विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो । हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उहाँको भनाइ थियो ।

त्यसैग्री प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश नं ३ सरकार लागिरहेको बताउनुभयो । उहाँले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नं ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्