दुई तिहाई मतले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव स्वीकृत



२७ पुस, हेटौंडा । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आज बसकेको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए ।

नेकपाको सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौंडाको पक्षमा मतदान गरेका हुन् । कतिपय सांसदले पार्टी निर्णय नमान्ने चेतावनी दिए पनि अन्तिममा हेटौंडाको पक्षमा मतादन गरेका छन् ।

नेकपाले पार्टी निर्णय नमान्ने सांसदको पद जाने चेतावनी दिएका थिएन । तर पार्टीको निर्णय अनुसार नै नेकपाका सांसदहरुले मतदान गरेका छन् । अब बस्ने बैठकले प्रदेशको नामबारे निर्णय गर्ने छ । प्रदेशको नामबारे भने एउटा मात्रै वागमती राख्ने प्रस्ताव परेको छ ।

प्रतिक्रिया दिनुहोस्