नाम र ठाउँमा भन्दा काममा विश्वास गर्नुपर्छः मन्त्री ढुंगेल



२८ पुस, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधि र प्रक्रिया अनुसार नै प्रदेशको नाम र राजधानी टुंगो लागेको बताउनुभएको छ । उहाँले प्रदेशसभामा दुई तिहाई बहुमत सदस्यले भोटिङ मार्फत नाम र राजधानीको टुंगो लागेको बताउदै अब नाम र ठाउँको विषयमा भन्दा पनि प्रदेश सरकार विकास निर्माणको काममा केन्द्रीत हुने बताउनुभयो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले भन्नुभयो,‘काभ्रेलाई राजधानी बनाउने विषय पनि आएको हो, प्रदेश सभाका दुई तिहाई बहुमत सदस्यले गरेको निर्णय त सबैले स्वीकार गर्नु नै पर्यो, अब ठाउँको विषयमा भन्दा पनि विकासको बारेमा बहस गर्ने आएको छ ।’
बागमती प्रदेशलाई समृद्ध बनाउने गरी अगाडि सारिएका नीति योजना र कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताउदै राजधानी भएकै कारण सबै विकास हुन्छ भन्ने तर्कमा सत्यता नभएको बताउनुभयो ।

संघीयताको चाहना र भावना विपरीत राजधानी हेटौडा कायम गरियो भन्ने रामेछाप न्युजको जिज्ञासामा उहाँले भन्नुभयो,‘राजधानी र नाम व्यक्ति विशेषको विषय भएन, प्रदेश सभाको दुई तिहाई बहुमतले गरेको निर्णय त मान्नु नै पर्यो नि ।’

जनतालाई सहज पहुँच पुर्याउनको लागि प्रदेश सरकारले सेवा कार्यालयहरु स्थापना गरेको बताउदै ढिलै भएपनि प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको बताउनुभयो । ‘भुगोल, जनसंख्याको हिसाबमा काभ्रे नै उपयुक्त हो भन्ने आवाज प्रदेश संसदमा उठेको हो, तर पार्टीले गरेको निर्णयमा प्रदेशसभा सांसदहरु एकै ठाउँमा उभिनु भो, अब समृद्ध प्रदेश बनाउन सबै मिलेर अगाडि बढनु पर्छ’ मन्त्री ढुंगेलले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्