हेटौडाबाट प्रदेशको राजधानी अझै सार्न सकिन्छः सांसद पौडेल



३ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं वागमती प्रदेशका सांसद शान्ति पौडेले बागमती प्रदेशको राजाधनी वैज्ञानिक नभएकाले आगामी दिनमा सार्न सकिने बताउनुभएको छ । उहाँले भूगोल र जनसंख्याको आधारमा काभ्रेलाई प्रदेशको राजधानी बनाउन कोशिस गरेपनि सम्भव नभएको बताउनुभयो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै उहाँले भन्नुभयो,‘रामेछापका जनतासँग माफी माग्न चाहन्छु, अन्तिमसम्म कोशिस गर्दा पनि सफल हुन सकिएन, मैले आफ्नो कुरा संसदमा राख्दा पनि सुनुवाई हुन सकेन, अझै आत्ति हाल्नु पर्ने अवस्था छैन, आगामी दिनमा हेटौडाको विकल्प खोजिन्छ ।’ आगामी दिनमा हेटौडाबाट राजधानी सार्न सकिने वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

रामेछापबाट प्रदेश सभा सांसद समेत रहनुभएका उहाँले रामेछाप जिल्लामा विकास निर्माणको काम सन्तोषजनक ढंगले अगाडि बढेको बताउनुभयो । सांसद पौडेलले भन्नुभयो,‘सडक कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ, विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ, उद्योग धन्दा सञ्चालन गरेर रोजगारी सृजना गर्ने कार्यमा हामी लागि परेका छौं ।’

प्रतिक्रिया दिनुहोस्