रामेछापमा यस बर्ष चौथो पटक हिमपात, जनजीवन कष्टकर



३ माघ, रामेछाप । रामेछापमा जिल्लामा  यस बर्ष चौथो पटक हिमपात भएको छ । अविरल बर्षासँगै रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको हाे । हिमपातको कारण उक्त क्षेत्रका बासिन्दाहरूको जनजीवन कष्कटर बन्न पुगेकाे छ । हिमपातबाट जिल्लाको उच्च क्षेत्रमा जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले बताउनुभयो ।

बिहीबार रातिदेखि जिल्लाका सबै भूभागमा वर्षा भएको छ । दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा र गौश्वारा सहित सैलुङ क्षेत्रमा भारी हिमपात भएको दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र उमाकुण्ड गाउँपालिकाको प्रिती, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती, गुम्देल लगायतका क्षेत्रमा पनि हिमपात भएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन नसक्ने अवस्था रहेको छ । रामेछापका प्रहरी प्रमुख पाठकले बर्षा र हिउको कारण जिल्लाको उमाकुण्ड, गोकुलगंगा र दोरम्बा गाउँपालिकाको उच्च क्षेत्रमा यातायात सेवा प्रभावित भएको बताउनुभयो ।

हिमपातको कारण जनजीवन कष्टर भएपनि हिउ खेल्ने आन्तरिक पर्यटकहरुको संख्या पनि ह्वातै बढेको छ । यस बर्ष मात्र दोरम्बा सैलुङ क्षेत्रमा हिउ खेल्नको लागि हजारौको संख्यामा आन्तरिक पर्यटकहरुको भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्