धुलिखेल–खुर्कोट सडक विस्तार हुने रामेछापलाई ठूलो फाइदा



३ माघ, काठमाडौं । राजधानी काठमाडौंलाई जोडने वैकल्पिक बिपी राजमार्ग निर्माण सम्पन्न भएको पाँच बर्षपछि पुनः विस्तार हुने भएको छ । सडकमा सवारीको चाप बढेसँगै यातायात सञ्चालनमा कठिनाई भएको निष्कर्ष निकाल्दै सरकारले दुई लेनको हुने गरी विस्तार गर्न लागेको हो । बिपी राजमार्ग साँघुरो हुँदा मलवहालक सवारी साधन धुलिखेल र सिन्धुलीबाट रामेछाप प्रवेश गर्न पाउदैनन् । रामेछाप जिल्लामा ढुवानीको सामाग्री लैजान अरनिको राजमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

बिपी राजमार्गमा दैनिक १४ हजार सवारीसाधन गुडने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बताएको छ । यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिएको छैन् । धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले सडक विस्तारका सम्भावनाका बारेमा सर्वेक्षण आगामी फागुनदेखि शुरु गरिने बताउनुभयो ।

उहाँका अनुसार्र निर्माण शुरु भएमा पाँच छ वर्षमा सडक विस्तारको काम सम्पन्न हुनेछ । प्रतिकिलोमिटर ३२ करोड लाग्ने अनुमान गरिएको बताउदै प्रमुख भाटले सडक विस्तार गर्नको लागि जग्गा अधिग्रहणको समस्या नरहेको बताउनुभयो । सडकको निर्माण गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले अहिले विस्तारमा पनि रुचि देखाएको छ ।

प्रमुख भाटले खर्कोट–नेपालथोक सडक विस्तार गर्न भने समस्या रहेको बताउदै विकल्पको रुपमा निर्माणाधिक मध्य पहाडी लोकमार्ग प्रयोग गर्ने गरी योजना बनाइएको बताउनुभयो । ‘खुर्कोटबाट रामेछापको खैरेनीघाट पुलबाट पुनः बिपी राजमार्ग जोडन सकिन्छ’, उहाँले  रामेछाप न्युजसँग भन्नुभयो,‘बिपी राजमार्ग विस्तार गर्नु भन्दा मध्य पहाडी लोकमार्ग प्रयोग गर्दा ठूलो फाइदा हुन्छ ।’

बिपी राजमार्ग दुई लेन बनेको अवस्थामा राजधानी काठमाडौं र तराईबाट निर्माण सामार्गी, खाद्य सामार्गी ढुवानी गर्न रामेछापवासीलाई सहज हुनेछ । सडक विस्तार गर्न र ढुवानीको साधन सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै रामेछापवासीले यस अघि सरकारको ध्यानकर्षण गराउनृको लागि रामेछाप जिल्लामा आन्दोलन नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्