प्राधिकरणको सफलतामा सर्वेन्द्र खनालको ठूलो साथ छः कुलमान घिसिङ



५ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सफलामा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको ठूलो साथ रहेको बताउनुभएको छ । आफूले नेतृत्व सम्हाले लगत्तै खनालको तेतृत्वमा प्राधिकरणभित्रकै कर्मचारी नै विद्युत चोरीमा संलग्न भएको तथ्य सहित पक्राउ गरेर दोषीलाई कानुनी दायरामा ल्याउन सफल भएको बताउनुभएको हो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै घिसिङले भन्नुभयो,‘आज प्राधिकरणको सफलतामा महानिरीक्षक खनालको साथ र सहयोग छ ।’ विद्युतीय चोरीको घटनामा संलग्न व्यक्ति पक्राउ गर्नमा प्रहरीको राम्रो साथ पाएको उहाँले बताउनुभयो । तीन बर्ष तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एवं हालका आइजिपी खनालको नेतृत्वमा विद्युत चोरीमा संलग्न भएको आरोपमा विद्युत प्राधिकरणका कर्मचारी र व्यापारी गरी १६ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले नेपाल विद्युत प्राधिकरणका कतिपय कर्मचारीको टोलीले गाडीमा आवश्यक सबै उपकरणहरु बोकेर ग्राहकको घरघरमा पुगेर विद्युत चोर्नमा सघाउने गरेको तथ्य फेला पारेको थियो । प्राधिकरणको इतिहासमै पहिलो पटक कर्मचारी नै संलग्न भएको प्रमाण सहित प्रहरीले पक्राउ गर्न सफल भएको थियो । प्रहरीले विद्युत चोरीमा संलग्न कर्मचारी र व्यापारी पक्राउ गरेपछि विद्युत चुहावटमा अहिले कमी आएको घिसिङ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्