सभामुखमा अग्नि सापकोटा निर्विरोध, १२ गते घोषणा



सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो। यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने संसद सचिवालयले जनाएको छ।

 

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो। अग्निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान उम्मेदवारी दर्ता गराएका थिए। यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्