लुभुघाटमा बन्ने ६४० मेगावाट जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने मन्त्री पुनको घोषणा



९ माघ, रामेछाप ।
रामेछाप र काभ्रेको सीमानामा बन्ने जलासययुक्त सुनकोसी–३ आयोजना अगाडि बढने भएको छ । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताउनुभयो । ‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कोलकात्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘त्यसो भयो भने हामी समुन्दख्रमार्फत अन्तर्रा्ष्ट्रिय बजारमा प्रवेश गर्छौं ।’

DIGITAL CAMERA

सुनकोसी–३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न मन्त्री पुनले आग्रह गर्नुभयो । आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने उहाँले बताउनुभयो । सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको बताउदै उहाँले देशलाई फाइदा हुने आयोजना छिट्टै अगाडि बढने बताउनुभयो ।

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कोलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने बारेमा पनि अध्ययन भइरहेको मन्त्री पुनले बताउनुभयो ।
सुनकोसी–३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग (जाइका) सन् १९८५ मै गरेको थियो । अध्ययनले सुनकोसी–३ का लागि रामेछाप–काभ्रेको सीमाना दोभनटारमा १ सय ४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत उत्पादन गर्न सकिने औंल्याएको थियो ।

तर, विद्युत विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ । परामर्शदाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेशन, डिजाइन एण्ड सिसर्च इन्ष्टीच्युट (सीआइडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. (इआरएमसी) मार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ ।

अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत उत्पादन हुन सक्ने देखाएको छ । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (ईआईए) समेत सुरु भइसकेको इआरएमसीको सञ्चालक उद्धवराज चौलागाईले बताउनुभयो । सुनकोसी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सुनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ ।

१ सय ६६ सय मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ । जलासय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ । आयोजनको विद्युत गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ । आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुन्छ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्