रामेछापमा नमूना वस्ती निर्माण गर्न प्रदेश सरकारले दियो डेढ करोड



स्नेहा सिलवाल
२२ माघ, काठमाडौं । कृषि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उदेश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकीकृत बस्ती निर्माण गर्न बागमती प्रदेश सरकारले डेढ करोड प्रदान गरेको छ । गाउँपालिकाका– ३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको विशेष पहलमा जिल्लामै पहिलो नमुना बस्ती निर्माणको काम अगाडि बढेको छ ।

बागमती प्रदेशको कृषि निर्देशनालय र खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङबीच द्धिपक्षिय सम्झौता भएको छ ।सुनकोसी नदी किनारामा अवस्थित डब्खाको माझी बस्तीमा निर्माण गर्न लागिएको एकीकृत बस्तीलाई होमस्टेको रूपमा विकास गर्ने अवधारणा अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो।

बागमती प्रदेश सरकारको कृषि मन्त्रालयले कृषि तथा पर्यटन कार्यक्रम अन्तर्गत एकीकृत बस्ती निर्माण गर्न लागेको बताउँदै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले प्रदेश सरकारको योजनामाका गाउँपालिका र स्थानीयले साथ दिएको बताउनुभयो । जग्गा प्राप्ति जनश्रमदान र घर निर्माणको लागि करिब ६ करोड रुपियाँ लगानी हुने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । आगामी ३ महिनाभित्र एकीकृत बस्ती निर्माण हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

बागमती प्रदेश सरकारको डेढ करोड प्रदान गरेसँगै खाँडादेवी गाउँपालिकाले पनि बस्ती निर्माण गर्न ७५ लाख बजेट विनियोजन गरेको छ । बस्ती निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराउनुको साथै श्रमदान गर्ने भएका छन् । सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्ने मुख्य उदेश्यसहित एकीकृत बस्ती निर्माण गर्न लागिएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । ‘सीमान्कृत समुदायको आर्थिक जीवनस्तर उकास्ने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाएको छ, एकीकृत बस्तीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर रोजगारी पनि सृजना हुन्छ ।’,उहाँले भन्नुभयो ।

एकीकृत बस्तीमा दुई कोठा रहने ४२ वटा घर निर्माण हुनेछन्। बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराइसकेका छन्। बस्तीभित्र सभा हल, स्विमिङ पुल, शारीरिक व्यायम गर्नेस्थल रहने खाँडदेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले रामेछाप न्युजलाई बताउनुभयो ।

सुनकोसी नदी किनारासँगै रहेको माझी बस्तीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दा आर्थिक अवस्था मजबुद्ध हुने खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा सदस्य भीम श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘माझी बस्तीमा निर्माण हुने एकीकृत बस्ती आकर्षण गन्तव्यस्थको रूपम ाविकास गछौं ।’प्रदेश सरकारले एकीकृत बस्ती निर्माणसँगै माझी समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने गरी नमूना कृषि कार्यक्रम पनि सञ्चालन गर्ने योजना अगाडि सारेको छ।

जसको कारण रोजगारीमा समेत बृद्धि हुने अपेक्षा गाउँपालिकाले गरेको छ । माझी समुदायले परम्परागत संस्कृतिको संरक्षणको साथै होमस्टेबाट रोजगारी बृद्धि गर्ने लक्ष्य राखिएको श्रेष्ठले बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले देशको १ सय सूचीमा सुनकोसी नदीलाई समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्