दोरम्बालाई नमूना बजार बनाउन गाउँपालिकाले जारी गर्यो ३५ दिने सूचना



२४ माघ, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित दोरम्बा बजारमा अवैध रुपमा निर्माण गरिएका अस्थायी संरचना भत्काउन गाउँपालिकाले ३५ दिने सूचना जारी गरेको छ । गाउँपालिकाले दोरम्बालाई नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न बजार स्थापना गर्न लागेको भन्दै अस्थायी संरचना भत्काउन स्थानीयलाई आग्रह गर्दै सूचना जारी गरेको हो ।
दोरम्बा बजारमा हाल करिब २२ वटा अस्थायी टहरा रहेको छ । दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले जारी गरेको विज्ञप्तीमा भनिएको छ– गाउँपालिकाको २०७६। १०। ७ गते सम्पन्न छैठौ गाउँसभाको निर्णय अनुसार प्रथम चरणमा दोरम्बा बजार क्षेत्रलाई व्यवस्थिति बनाइ पर्यटन प्रबद्र्धन गर्ने उदेश्य अनुसार उक्त क्षेत्रमा सार्वजनिक जग्गामा बनेका घर टहराहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घर टहरा स्वयम घर धनीले हटाइदिन अनुरोध गरिन्छ ।


समयभित्र अटेर गरी नहटाएमा स्थानीय सरकारले आफैले हटाई सो बापत लागेको खर्च समेत सम्बन्धित घरटहरा धनीबाट असुल उपर गरिने व्यहोरा पनि विज्ञप्तमा उल्लेख गरिएको छ ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले दोरम्बा बजारलाई नमूना वस्तीको रुपमा विकास गर्ने उदेश्यको साथ घरटहरा खाली गर्न गाउँपालिकाबाट सूचना जारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘दोरम्बालाई देशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ, बजारलाई व्यवस्थित गर्न गुरु योजना बनाइसकिएको अवस्थामा घर घटरा खाली गरेर सहयोग गरिदिन आग्रह गर्दछु ।’
बजार क्षेत्रमा अब निर्माण हुने संरचना मापदण्ड अनुसार हुने बताउदै उहाँले मुख्य सडकलाई वीस मिटर फराकिलो बनाउने बताउनुभयो । ‘हाम्रो उदेश्य बजारमा अहिले भएका अवस्थित घर टहरलाई हटाएर व्यवस्थित गर्ने हो’, वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘बजारवासीले यस अभियानमा सहयोग गरी दोरम्बालाई नमूना बजार बनाउनु पर्छ ।’
गाउँपालिकाको लगानीमा गत बर्ष दोरम्बा बजार क्षेत्रको विस्तुत आयोजना प्रतिवेदन (डिपिआर) तयारी भइसकेको छ । गाउँपालिको गुरु योजना अनुसार काम अगाडि बढाउन अस्थायी घरटहरा भत्काउन सूचना जारी गरेको हो । दोरम्बा बजारको सार्वजनिक जग्गामा करिब ४० भन्दा बढी अस्थायी र स्थायी घर टहरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्