प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त, काे हुन ज्ञवाली ?



२८ माघ, काठमाडाैं ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई महानिरीक्षकमा बढुवा गरेको हो ।  आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपीमा नियुक्त गरेको हो ।

यसअघि मंगलबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव महेश्वर न्यौपानेको छलफलले ज्ञवालीलाई अघि सार्ने प्रस्ताव मन्त्रिपरिषदमा लाने निर्णय गरेको थियो । सोही प्रस्ताव अनुरुप गृहमन्त्री थापाले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।

को हुन ज्ञवाली ? 

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो ।

बाबु नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीका माइला छोरा ठाकुर हालका आईजीपी सर्वेन्द्र खनालसँगै सेवा प्रवेश गरेपनि त्यसबेला केही अधिकृतलाई पासआउटमा वैकल्पिक समूहमाराखेपछि उनको नियुक्ति पर धकेलिएको थियो । हाइटी, पूर्वी टिमोर, कोसोभोलगायत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका विभिन्न मिसनमा बसेर पनि सेवा गरेका ज्ञवाली आईजीपी हुनु अघि प्रदेश १ का प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।

२०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डीआईजीमा बढुवा भएका थिए। एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो र बुटवल प्रहरी तालीम केन्द्रको ‘कमाण्डेण्ट’ रहिसकेका ज्ञवाली एसपी हुँदा कर्मचारी प्रशासन शाखा जिल्ला प्रहरी कार्यालय झापा, दाङ र बारा,महानगरीय प्रहरी अपराध महाशाखा प्रहरी प्रमुख बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्