महरा निर्दोष सावितः देशको स्वाधिनताको पक्षमा दृढ छुः महरा



५ माघ, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाउनुभएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष भएको बताउदै सफाई दिनुभएको हो । सफाइ पाएपछि महराको एक वक्तव्य जारी गर्दै देशको स्वाधीनताको रक्षा पहिलो प्राथमिकता भएको बताउनुभयो । अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाउनुभएको हो । महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् ।

त्यस्तै औंठाछापलगायत फरेन्सिक जाँचको रिपोर्टबाट पनि महरा उक्त घटनामा संलग्न नभएको देखिएकाले सफाइ पाउनुभएको अदालतले बताएको छ । अदालतको आदेश लगत्तै महरा डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ ।
प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।लगत्तै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिनुभएको थिएन ।
यस्तो छ महराको विज्ञप्ती

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।
एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।
धन्यवाद !
२०७६ फागुन ५

कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२

प्रतिक्रिया दिनुहोस्