पूरा हुँदै कुलमानको सपनाः काठमाडौं बन्नेछ अब सुन्दर शहर



फागुन ५, काठमाडाैं ।
सरकारले पहिलो चरणमा काठमाडौँ महाराजगञ्ज र रत्नपार्क क्षेत्रका तार भूमिगत बनाउने कामको थालनी गरेको छ । काठमाडौँको विद्युत् प्रणाली, भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले शुरु गरिएको सो योजना आगामी २०२१ भित्र सम्पन्न गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको ताररहित बनाउने सो योजनामा टेलिफोन, इन्टरनेट तथा केबुल टेलिभिजनका तारसमेत एकै पटक भूमिगत गरिनेछ । नेपाल प्रहरीको तालीम केन्द्रमा आयोजित ‘काठमाडौँ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भ’ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेमहाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, धापासी, बसुन्धारा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका क्षेत्रमा कूल २५० किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेज क्षमताका अप्टिकल फाइबर जडान गरिने बताउनुभयो ।

त्यसैगरी रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका क्षेत्रमा कूल ४०० किलोमिटर तार भूमिगत गरिनेछ । त्यस क्षेत्रमा ४०० केभी क्षमताको विद्युत् प्रणाली भूमिगत हुनेछ । त्यस्तै सोही क्षेत्रमा २०० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने योजनामा समावेश छ । सो कार्यका लागि करिब सात अर्ब खर्च लाग्नेछ ।

प्राधिकरणले सो कार्यका लागि सन् २०१९ को मार्चमा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सन् २०२१ भित्र तार भूमिगत गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य छ । सडकको दायाँबायाँ किनारमा गाडिएका पोलका कारण सवारी साधन दुर्घटनामा पर्ने, आगलागी हुने तथा तारमा अल्भिने समस्याले तार भूमिगत गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । प्राधिकरणको योजनाअनुसार पोलबाट तार तानेर गरिने विद्युत् वितरणभन्दा जमिनमुनिको वितरण भरपर्दो, प्रभावकारी एवं सुरक्षित हुनेछ ।

कार्यकारी निर्देशक घिसिङले विद्युत् प्रणाली थप सुरक्षित एवं शहरी सौन्दर्यमा परेको नकारात्मक प्रभाव हटाउन सहयोगी हुने बताउदै हावाहुरी, पानी वा चट्याङ पर्दा विद्युत् अवरोध हुने समस्याको समाधान हुने बताउनुभयो । थप विद्युत् माग भएको अवस्थामा त्यसलाई सहजै व्यवस्थापन गर्न विभिन्न स्थानमा ‘प्वाइन्ट’ राखिने भएकाले सजिलो हुनेछ ।

प्राधिकरणको योजनाअनुसार दोस्रो चरणमा काठमाडौँको बाँकी स्थानमा विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढीकरण र स्वचालित गर्न बोलपत्र आह्वान भइसकेको छ । बोलपत्रको हाल मूल्याङ्कन भइरहेको छ । सो योजनामा २५० किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेजको भूमिगत लाइन विस्तार तथा ४०० किलोमिटर अप्टिकल फाइबर भूमिगत गरिनेछ ।

भक्तपुर तथा ललितपुर क्षेत्रमा वितरण प्रणाली भूमिगत गर्न खरिद प्रक्रिया अगाडि बढाइएको छ जसको लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता आएको छ । तार भूमिगत गर्दा सडकमा न्यूनतम क्षति पु¥याइनेछ । परम्परागत तरिकाले सडक नखनी सम्भव भएसम्म ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिको उपयोग गरिनेछ ।

भूमिगत गरिने तारसँगै अप्टिकल फाइबर बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार सेवा, केबुल टेलिभिजन सेवा प्रदायकले समेत त्यसलाई प्रयोग गरी आफ्नो सेवा विस्तार गर्न सक्नेछन् । त्यसबाट सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणालागू गर्न सहज हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्