जनप्रतिनिधिहरूले लुगामा गोजी राख्नु हुन्नः मन्त्री ढुंगेल



८ फागुन, काभ्रे ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जनप्रतिनिधिहरुलाई लुगामा गोजी नराख्न आग्रह गर्नुभएको छ । उहाँले स्थानीय जनप्रतिनिधिबाट भ्रष्टचार भएको आरोप आइरहेको जनाउँदै स्थानीय जनप्रतिनिधिलाई आफूले लाउने लुगामा गोजी नराख्न अनुरोध गरेका हुन् । ‘जनप्रतिनिधिहरुबाट पारदर्शी र शुसासन कायम गर्नुपर्छ’, मन्त्री ढुंगेलले भन्नुभयो,‘एउटा ऐना पनि बोक्नुहोस, अनि जनप्रतिनिधि हुँदाको अनुहार र भईसकेपछिको अनुहार हेर्नुहोस् ।’
विहिबार तेमाल गाउँपालिका–८ मा आयोजित रोशीखोला लिफ्ट सिंचाई आयोजना र मेच्छे चक्रपथको शिलान्यास गर्दै मन्त्री ढुंगेलले मंगलटारमा पुल निर्माणको लागि पहल गर्ने बताउनुभयो ।
‘अर्को आर्थिक वर्ष मंगलटारमा पक्की पुल निर्माण हुन्छ । त्यसको लागि म लागि रहनेछु, उहाँले भन्नुभयो,‘यसको सम्पूर्ण डकुमेन्ट मन्त्रालयसम्म चाँडै पु¥याउनु होला ।’
उहाँले शहीद दिवसमा मात्र शहीदलाई सम्झेर नहुने बताउँदै शहीदको सपना पूरा गरे मात्र वास्तविक सम्मान हुने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश सदस्य सांसद रत्न ढकालले तेमाललाई कृषि मात्र होइन, पर्यटन विकासको लागि पनि आफूले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले आफ्नो गाउँपालिकामा लिफ्ट सिंचाईको योजनाको लागि प्रदेश सरकारले विशेष चासो राखेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्