दोरम्बा गाउँपालिकाका अध्यक्ष मोक्तानमाथि अदालतमा मुद्दा दायर



४ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानको विरुद्ध दोरम्बा बजारका स्थानीयले मुद्दा दायर गरेका छन् । दोरम्बा बजारलाई व्यवस्थित गर्न गाउँपालिकाले गुरु योजना निर्माण गरेर बजारवासीलाई घर टहरा खाली गर्न ३५ दिने सूचना जारी भएपछि सार्वजनिक प्रति जग्गामा बसोबास गर्दै आएका करिब ६१ घरधुरीले गाउँपालिकाका अध्यक्ष मोक्तान, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी र दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडग बहादुर श्रेष्ठलाई प्रतिपक्ष बनाएर मुद्दा दर्ता गराएका हुन् ।
गाउँपालिकाले बजारलाई व्यवस्थित गर्न र बजारवासीको व्यवस्थापन गर्न घर टहरा भत्काएर नयाँ बजार स्थापना गर्नको लागि गत माघ २० गते सार्वजनिक सूचना जारी गरेको थियो । तर सूचनाको म्याद सकिन तीन दिन बाँकी रहदा फागुन २३ गते बजारवासीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका छन् ।
दोरम्बा बजारका स्थानीय मिन बहादुर घिसिङको नेतृत्वमा उच्च अदालतमा मुद्दा दायर भएसँगै प्रारम्भिक सुनुवाई सुरु भएको छ । सुनुवाईमा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बजारलाई व्यवस्थित गराउनको लागि घर टहरा खाली गराउन जारी गरेको सूचना जायज भएकाले बताउनुभएको थियो । उहाँले सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम बढेपछि गाउँपालिकाले बजारलाई व्यवस्था गरेर बजारवासीलाई पनि व्यवस्थापन गर्ने उदेश्यसहित अगाडि बढेको जवाफ दिनुभएको थियो ।


अध्यक्ष आफै उपस्थिति भएर दिएको जवाफमा दोरम्बका जनताको नजिक भएर काम गरिरहेको उल्लेख गर्दै दोरम्बामा रहेका दुई घरधुरी बाहेक अन्य वासिन्दाको घर काठमाडौं र सदरमुकाम मन्थलीमा रहेको जानकारी दिनुभएको थियो । ‘गाउँपालिकाले अगाडि सारेको योजना अवरोध गर्ने काम गतल छ, उहाँले भन्नुभएको छ–दोरम्बा बजारको सार्वजनिक जग्गामा बस्नेहरु सुकुम्बासी होइन, हुकुमबासी हुन ।’ बजारवासीले घर टहरा नभत्काउन अन्तिरिम आदेशको माग गरेपनि अदालतले सो बमोजिम आदेश दिन भने इन्कार गरेको छ । गत बर्ष दोरम्बा गाउँपालिकाले बजारलाई व्यवस्थित गर्न बजारको गुरु योजना बनाएको थियो ।

दोरम्बाका स्थानीय मिन बहादुर घिसिङले बजारवासीसँग परामर्श नै नगरी एकै पटक घरटहरा भत्काउने सूचना जारी हुँदा आपूmहरु आश्चर्य चकित भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सूचना जारी भएपछि हामीले गाउँपालिकालाई ज्ञापनपत्र पनि बुझायौ, तर गाउँपालिकाले जसरी पनि भत्काउने निर्णय गरेपछि बाँध्य भएर मुद्दा दर्ता गर्यौ ।’ गाउँपालिकाले गुरु योजना बनाएर बजारलाई व्यवस्थित गर्न घर टहरा भत्काउन लागेको बताएको छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो,‘सरोकारवाला बजारवासीसँग यस विषयमा कुनै सल्लाह नै भएको छैन, हामीसँग एक पटक पनि छलफल नगरी सूचना जारी गरियो ।’

बजारवासीको असहमतिपछि बसेको सर्वदलिय बैठकमा पनि अहिले भएको संरचना नभत्काईकन बजारलाई व्यस्थित गर्न सुझाव आउदा पनि गाउँपालिकाले अटेर गरेको घिसिङले आरोप लगाउनुभयो । ‘गाउँपालिकाका राजा महाराजाजस्तै हुकुमी शैलीमा प्रस्तुत भयो, हामी बसिरहेको सार्वजनिक प्रति जग्गा नै हो, राम्रो बनाउनु पर्छ, तर हाम्रो पनि उचित व्यवस्थापन हुनु पर्छ ।’ जिल्ला अदालत रामेछापमा राजनीतिक चलखेल हुने आशंकामा आफूहरु उच्च अदालत पाटन गएको उहाँले बताउनुभयो ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडग बहादुर श्रेष्ठले बजारवासीको सहमति अनुसार नै गुरु योजना बनाएर बजारलाई व्यस्थित बनाउने काम अगाडि बढाएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘हाम्रो उदेश्य अहिलेको अव्यवस्थित बजारलाई व्यस्थित बनाउने हो, हामीले हचुवाको शैलीमा होइन, गुरु योजना निर्माण गरेर काम अगाडि बढाएका छौ, अहिले बजारमा घर टहरा बनाएर बसेका बजारवासीलाई प्लानिङ मार्फत पुनः बजारमै राख्ने हो, गाउँपालिकाले अगाडि सारेको राम्रो योजनामा बजारवासीले अवरोध होइन, सहयोग गर्नुपर्छ ।’ अहिले बजारमा रहेका बासिन्दालाई विस्थापित गर्ने गाउँपालिकाको कुनै पनि योजना नरहेको श्रेष्ठले दावी गर्नुभयो । उहाँले बजारवासीसँग मात्र नभई सर्वदलिय बैठक मार्फत पनि सहमतिको आधारमा बजारलाई व्यवस्थित बनाउने कार्यमा सहमति जुटाएर अगाडि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्