मन्थलीमा लकडाउनको अवज्ञाः बजारमा नहिडन प्रहरीद्धारा माइकिङ



११ चैत्र, रामेछाप ।
विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९)को संक्रमण नेपालभित्र फैलिन नदिन सरकारले आजबाट लकडाउनको गरेको छ । तर रामेछापको सदरमुकाम मन्थलीका केही बजारवासीले पनि सरकारले गरेको घोषणा अवज्ञा गर्दै बजारमा निस्किएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले सात दिनको लागि कफ्यु लागू गरेपनि सचेत भनिएका केही बजारवासीले सरकारलाई नै चुनौती दिदै बजारमा निस्किएका हुन् ।

सरकारले जारी गरेको घोषणा अवज्ञा गर्ने क्रम नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रामेछापले बजार क्षेत्रमा माइकिङ नै गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले केही बजारवासीले अटेर गरेर बाहिर निस्किएपछि प्रहरीले माइकिङ गरेर घरबाट बाहिर नआउन माइकिङ गरेको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘नागरिकहरुको जीवन रक्षा गर्न सरकारले लकडाउन गरेको हो, अहिले रमाइलो गरेर सडकमा घुम्ने र बाहिर हिडने समय होइन, घरमा बसेर सहयोग गर्ने बेला हो ।’ सरकारले गरेको निर्णय अवज्ञा गरे पक्राउ गरेर कानुनी कारवाही गर्ने समेत उहाँले चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्