रामेछापको सीमा नाकामा कडाईः सेलेघाटबाट ३० सवारी साधन फर्काइयो



११ चैत्र, रामेछाप ।
सरकारले गरेको निर्णय अवज्ञा गर्दै रामेछाप प्रवेश गर्ने सवारी साधनलाई सीमा नाका सेलेघाटबाट फिर्ता पठाइएको छ । सरकारले लकआउटको घोषणा गरेपनि उक्त निर्णयलाई अटेर गर्दै जिल्ला प्रवेश गर्न लागेको सवारी साधनलाई सेलेघाट नाकाबाट प्रवेश गर्न नदिएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले एक साताको लागि कफ्यु लगाए पनि राजधानी काठमाडौंबाट आएका केही युवाहरु प्रशासनलाई नै चुनौती दिदै जिल्ला प्रवेश गर्न खोजेका थिए । तर जिल्ला प्रहरी कार्यालय रामेछापले सरकारको निर्णय नमानेको भन्दै ३० वटा भन्दा बढी मोटरसाइकलाई फिर्ता गरिदिएको छ । एम्बुलेन्स इन्धन, खानेपानी र ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा जिल्ला प्रहरी कार्यालय रामेछापले कडाई गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले सरकारले गरेको निर्णय नमान्ने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘अत्यावश्यक सवारी साधन सञ्चालन गर्न दिएका छौ, राज्यलाई नै चुनौती दिने गरी आउने अन्य सवारी साधनलाई जिल्ला प्रवेश गर्न दिदैनौ ।’

प्रतिक्रिया दिनुहोस्