बागमती प्रदेश सरकारद्धारा १० करोडको कोरोना उपचार कोष स्थापनाः मन्त्री ढुंगेल
११ चैत्र, हेटौडा । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमित भएको अवस्थामा उपचारको लागि बागमती प्रदेश सरकारले कोरोना भाइरस उपचारकोष स्थापना गरेको छ । प्रदेश सरकारले बैठकले १० करोडको आपत्कालीन कोष स्थापना गरेको हो ।
बागमती प्रदेशका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विश्वभर नै महामारीको रुपमा फैलिएको रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषका स्थापना गरिएको बताउनुभयो । कोषमा रकम जम्मा गर्न सरकारले सर्वसाधारणलाई समेत आह्वान गरेको बताउदै उहाँले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।
मन्त्री ढुंगेलले कोषको रकम कोरोना रोकथामका निम्ति लड्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्वास्थ्य उपकरणका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायत अत्यावश्यक सामग्री र स्वास्थ्य व्यबस्थाको प्रवन्ध मिलाउन खर्च गरिने बताउनुभयो । उहाँले कोरोना आपत्कालीन कोषमा इच्छा हुने व्यक्ति एवम् संस्थाहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।