रामेछापका सबै स्थानीय तहलाई प्रशासनको निर्देशनः विद्यालयलाई तत्काल क्वारेन्टाइन बनाउनुहोस



१२ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाभित्र सम्भावित कोरोना भाइरस संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले आठ वटै स्थानीय तहका प्रमुख र स्वाथ्यकर्मी सहितको कोरोना नियन्त्रण तथा समन्वय समिति गठन गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा गठित समितिमा नगरपालिका/गाउँपालिकाका नगरप्रमुख/अध्यक्ष, सुरक्षा निकायका प्रमुख, जनस्वास्थ्य प्रमुख, रामेछाप उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्प्ताल कोरोना सम्पर्क व्यक्ति र सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेका छन् ।

आज बसेको बैठकले कोराना भाइरसको बारेमा सूचना संकलन र जानकारी गराउन जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा इन्फरमेसन युनिट खडा गर्ने निर्णय गरेको छ । उक्त युनिटले दैनिक रुपमा दिनको २ बजे सबै स्थानीय तहका स्वास्थ्य संयोजक तथा निजी अस्पतालले कोराना रोकथाम र नियन्त्रणको लागि गरेका कामहरुको बारेमा जानकारी उपलब्ध गराउनेछ ।

कोरोनाको सम्भावित आइपर्ने समस्या समाधान गर्नका लागि स्थानीय तहमा छरितो समिति बनाई कार्य गर्न र कोरोनाको आशंका देखा परेमा क्वारेन्टाइनको व्यवस्था गरी आवश्यक पर्ने खाने बस्ने लगायतको व्यवस्था गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । बैठकले स्थानीय तहमा भौतिक पूर्वाधार सम्पन्न विद्यालयहरुमा क्वारेन्टाइन निर्माणको काम प्राथमिकताको साथ अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्