सबै नेपालीलाई आ–आफ्नै घरमा बस्न मन्त्री ढुंगेलको आग्रह



१३ चैत्र, हेटौडा ।
बागमती प्रदेशका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कारोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको निर्णय पूर्णरुपमा पालना गर्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आ–आफ्नै घरमा बस्न आह्वान गर्नुभएको हो । मन्त्री ढुंगेलले सबै नागरिकलाई सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवम् आचारसंहिता पालना गरेर घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गर्नुभयो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले सरकारद्वारा कोरोनाको संक्र्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का अवधिमा घरमै बसेर सहयोग गर्न आग्रह गर्नुभयो । सम्भावित कोरोना भाइरसको नियन्त्रण र रोकथापको लागि प्रदेश सरकारले १० करोडको कोष खडा गरेको जानकारी दिदै उहाँले सबै संघ संस्था र व्यक्तिहरुलाई कोषमा सकेको सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

कोरोनाबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुक प्रभावित हुनाका साथै चार लाखभन्दा बढी जनामा संक्रमण भई १८ हजारभन्दा बढीको निधन भइसकेकाले संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आआफ्ना ठाउँबाट क्रियाशील हुन मन्त्री ढुंगेलले अपिल गर्नुभयो । उहाँले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सामाजिक दूरी कायम गर्दै सरसफाइसहित घरमा बस्नु नै उत्तम विकल्प रहेको बताउदै भन्नुभयो,‘सरकारको निर्णय पालना गरौ, कुनै हेलचेक्रयाइँ नगरौ, सुरक्षित हुनको लागि घरमै बसौ ।’

प्रतिक्रिया दिनुहोस्