रामेछापमा ३५ जना क्वारेन्टाइनमा एक जना आइसोलेसनमा भर्ना



१३ चैत्र, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । रामेछाप जिल्लाभित्र छिमेकी देश भारत र अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम सुरु भएको छ भने एक जनालाई तामाकोसी अस्पतालमा आइसोलेसनमा भर्ना गरिएको छ ।

जिल्लाभित्र विदेशबाट आएका व्यक्तिहरुमाथि निगरानी बढाउदै क्वारेन्टाइनमा राख्ने काम तीब्र गतिमा अगाडि बढेको छ । जिल्लाकाको पाँच स्थानीय तहमा विदेशबाट आएका ३५ जना व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको व्यवस्थापनको काम स्थानीय तहले गरिरहेको छ ।

‘विदेशबाट रामेछाप जिल्लाभित्र आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने नीति अनुसार धमाधम काम भइरहेको छ’, प्रमुख कर्णले भन्नुभयो,‘विदेशबाट आएका व्यक्तिहरु स्वयमं पनि सम्पर्कमा आउन थाल्नुभएको छ ।’ तामाकोसी अस्पतालमा आइसोलेसनमा भर्ना भएका लिखु तामाकोसी गाउँपालिकाका ५८ बर्षिय व्यक्तिको ज्वरो घटेपछि कोरोनाको आशंकामा नमुना परीक्षण गर्न नपठाएको कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्