मन्थली नगरपालिकामा २२ आइसोलेसन २० वटा क्वारेन्टाइन तयार



१३ चैत्र, रामेछाप ।
रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि पूर्वतयारी तीब्र बनाएको छ । मन्थली नगरपालिकाभित्र सरकारी र निजी अस्पताल गरी २२ शैयाको आइसोलेसन तयार गरिएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि पूर्व तयारी तीब्र गतिको साथ अगाडि बढाएको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार तामाकोसी अस्पतालले १४ सैयाको आइसोलेसन तयार गरेर सञ्चालनमा ल्याएको बताउदै मन्थली नगरपालिका अन्तर्गत गरेको प्राथमिक स्वास्थ्य चौकीले ४ वटा र रामेछाप सामुदायिक अस्पताले ४ वटा आइसोलेसन तयार गरेको छ । फुयालले भन्नुभयो,‘मन्थली माविमा २० वटा क्वारेन्टाइन सञ्चालनमा ल्याएका छौ, आवश्यकताको आधारमा थप्दै लैजाने नीति रहेको छ ।’ उहाँका अनुसार मन्थली नगरपालिकाभित्र रहेका ७ वटै एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि पालिकास्तरसँगै वडास्तरमा पनि समन्वय समिति गठन गरेर काम गरिरहेको बताउदै उहाँले नगरपालिकाको भैसेश्वरमा हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको बताउनुभयो । नगरपालिकाभित्र तीन जना डाक्टर सहित १३० जना स्वास्थ्यकर्मी रहेको बताउदै उहाँले २४ वटा सरकारी र ६ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिनुभयो ।

विदेशबाट नगरपालिकाभित्र आएका व्यक्तिहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागू गरेको फुयालले बताउनुभयो । मन्थली माविमा स्थापना गरेको क्वारेन्टाइनको बारेमा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले आवश्यकताको आधारमा क्वारेन्टाइन थप्दै लैजाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्