प्रधानमन्त्री ओली अस्पताल भर्ना



१३ चैत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राति अस्पताल भर्ना गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज हुनेछ । प्रधानमन्त्री ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनपछि बालुवाटार फर्किनुभएको थियो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा विताउनुभएको थियो । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको नेपालमा फैलिन नदिन रोकथाम र नियन्त्रणको लागि प्रधानमन्त्री सक्रिय रहदै आउनुभएको छ ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरुले छ महिना आराम गर्नुपर्ने सुझाव दिएपछि देशको विषम परिस्थितिको कारण प्रधानमन्त्री सक्रिय रहदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्