विदेशबाट आएका नागरिकहरु धमाधम खोजीरहेका छौः नगरप्रमुख थापामगर



१५ चैत्र, रामेछाप ।
रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले सम्भावित कोरोना भाइरसको संक्रमण नगरपालिकाभित्र भित्रिन नदिन विदेशबाट आएका नागरिकहरुको तथ्याङ संकलन गरिरहेको बताउनुभयो । उहाँले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था सहित तथ्याङक संकलनको काम तीब्र गतिमा अगाडि बढाइएको बताउनुभएको हो ।


रामेछाप न्युजसँग कुराकानी गर्दै नगरप्रमुख थापामगरले भन्नुभयो,‘आइसोलेसन, क्वारेन्टाइनको व्यवस्था गरेका छौं, विदेशबाट आएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले खोजी गरेर क्वारेन्टाइनमा राख्ने काम पनि सुरु गरेका छौं ।’ उहाँका अनुसार रामेछाप नगरपालिकाभित्र हाल सात जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको खानपानको व्यवस्थापन पनि नगरपालिकाले गरेको बताउदै थापामगरले नगरपालिकाभित्र ६० वटा क्वारेन्टाइनको व्यवस्था गरेको पूर्वतयारी गरिएको बताउनुभयो ।
त्यसैगरी उहाँले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि २५ लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको पनि जानकारी दिनुभयो । नगर कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो । १०२०३०५०४५४०१ राष्टिय वाणिज्य बैँक रामेछाप मार्फत कोषमा रकम जम्मा गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्