रामेछापमा २४ वटा एम्बुलेन्सः ज्वरोका बिरामी बोक्न चालकद्धारा अस्वीकार



१५ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाभित्र रहेको २४ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । तर एम्बुलेन्स चालकहरुले सुरक्षित पोशाक बिना एम्बुलेन्स चलाउन नसक्ने बताएका छन् । विश्व्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला सम्भावित संक्रमित बिरामीलाई राजधानी काठमाडौं र धुलिखेल अस्पताल लैजानको लागि एम्बुलेन्स तयारी अवस्थामा राखिए पनि चालकहरुले भने सुरक्षित पोसाश भएकोमा मात्र एम्बुलेन्स चलाउन अडान लिएका हुन् ।

एम्बुलेन्स सञ्चालन गर्ने स्थानीय तह र संघ संस्थाले संकटको घडीमा एम्बुलेन्स चलाउन आग्रह गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले सबै एम्बुलेन्स सञ्चालकहरुलाई एम्बुलेन्स २४ सैं घण्टा तयारी अवस्थामा राख्न आग्रह गरेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले एम्बुलेन्स चालकलाई सुरक्षित पोशाक व्यवस्था गर्नुपर्ने खाँचा रहेको बताउनुभयो ।

मन्थली नगरपालिका–१३ फुलासीस्थित स्वास्थ्य चौकी मार्फत सञ्चालित एम्बुलेन्सका चालक इन्द्र बहादुर तामाङले ज्वरो आएका बिरामी नबोक्ने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘विदेशबाट आएका बिरामी बोक्दैनौ, धेरै ज्वरो आएकालाई पनि एम्बुलेन्समा राखेर अस्पताल लैजान सकिने अवस्था छैन् ।’

उहाँले डाक्टरहरु जस्तै सुरक्षित पोशाक नहुँदासम्म कोरानाका आशंका गरिएका बिरामीहरुलाई एम्बुलेन्समा राखेर अस्पतालसम्म लैजान नसकिने बताउनुभयो । रामेछाप जिल्लाभित्र सञ्चालित अधिकाशं एम्बुलेन्स चालकहरुले सुरक्षित पोसाक बिना कोरानाका आशका गरिएका बिरामी नबोक्ने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्