लकडाउन फेरि एक साता लम्ब्याउने सरकारको तयारी



१६ चैत, काठमाडौं ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि सरकारले फेरि एक साता लकडाउनको लब्याउने तयारी गरेको छ । सम्भावित जोखिमबाट नागरिकहरुलाई सुरक्षित राख्न सरकारले लकडाउनको समय बढाउन लागेको हो ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ । सरकारका एक मन्त्रीको अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि एक साता लम्ब्याउन लागेको बताए ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ । समितिको कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

यस्तै, कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भएको छ । भारतमा लकडाउनको अवज्ञा भइरहँदा त्यसको असर नेपालको सीमा क्षेत्रमा नपरोस् भनेर सुरक्षा संयन्त्रलाई सतर्क गराइएको छ ।यसैगरी, चीनबाट ल्याइएका मेडिकल सामग्री कोरोनाको उपचारका लागि तोकिएका र अन्य अस्पतालहरुलाई वितरण गर्नेगरी मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्