लकडाउन थप्ने निर्णयसँगै सरकारद्धारा राहत प्याकेजको घोषणा



१६ चैत्र, काठमाडौं ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप सात दिन ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप सात दिनसम्म लकडाउन थप्ने निर्णय गरेको हो । बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ ।
सँगै मन्त्रिपरिषद् बैठकले विभिन्न राहत घोषणाको निर्णय गरेको छ । राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ । साँझ ५ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेका थियो ।

त्यसैगरी सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनबाट प्रभावित ज्याला मजुदरी गर्ने श्रमिक वर्गलाई स्थानीय तहबाट राहत दिने निर्णय गरेको छ । स्थानीय तहले खडा गरेको कोष मार्फत राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । स्थानीय तहको कोषको रकमले नपुगे सरकारी रकम खर्च गर्न सकिनेछ ।
यसका लागि स्थानीय तहले मजदुरी गर्नेको लगत तय गर्ने, राहत लिनेले स्थानीय तहमा सुचिकृत हुने र स्थानीय तहले परिवार संख्याका आधारमा आवश्यकता अनुसार आफ्नो कोषबाट राहत उपलब्ध गराउने मन्त्री खतिवडाले बताउनुभयो ।
यसका साथै एकल महिला, आमाबाबु गुमाएका बालबालिकाको हेरचाह गर्ने निर्णय गरेको बताउदै उहाँले संस्था वा प्रतिस्ठानमा काम गर्ने मजुरलाई संवन्धित रोजगारदाताले तलब दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ । कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो । घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने निर्णय गरेको खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्